Harsamaya
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ 
तस्वीरः प्रम कार्कीको सचिवालय

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव शंकर पोखरेलसहितका एमाले नेताहरूसँगको छलफलमा कार्कीले चुनावमा सहयोगका लागि आग्रह गरेकी हुन् ।

एमाले नेताहरूले भने कार्की नेतृत्वको सरकारको संवैधानिक परीक्षण नै बाँकी रहेकाले पहिला त्यसको किनारा लाग्नुपर्ने बताएका थिए । एमाले नेताहरूले निष्पक्ष चुनाव हुने र मतदाताले निर्भयताका साथ मत दिने वातावरण बन्न नसकेको प्रधानमन्त्रीलाई सुनाएका थिए । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले चुनावको वातावरण नरहेको आफूहरूको निष्कर्ष सुनाएको बताए ।

‘प्रधानमन्त्रीज्यूले निर्वाचनसँग जोडेर विषयवस्तु राख्नुभयो । चुनावमा एमालेको संस्थागत साथ होस्, पार्टीको साथ रहोस् भन्ने कुरा गर्नुभयो’, बालुवाटार बैठकपछि बर्तौलाले भने, ‘पहिलो कुरा अहिले सरकारको गठनको सन्दर्भमा संवैधानिक प्रश्न चलिरहेको छ, त्यो पहिला टुंगियोस् । त्यसपछि निर्वाचनको कुरा आउँछ भन्यौं ।’

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने नेतृत्व गरेका एमाले संसदीय दलका निवर्तमान मुख्य सचेतक बर्तौलाले अगाडि भने, ‘निष्पक्षता र निर्भयताको कुरामा हामी विश्वस्त हुने आधार नबनेको बतायौं । पूर्वशर्तको रूपमा रहेको शान्ति सुरक्षाको पाटो, दलहरूले भयरहित ढंगले जनतामा जाने र मतदाताले विवेकको मत राख्ने परिस्थिति बनेको देखेका छैनौं ।’

एमालेले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले फुली फुकाउनासाथ गरिएको स्थानहदबारे समेत चासो राखेका थिए । ‘निवर्तमान आईजीपीलाई जसरी स्थान हदको विषयवस्तु हतारो गरियो, त्यसले देशभरका प्रहरीको मनोबल के भएको छ ? यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं’ बर्तौलाले भने ।

प्रधानमन्त्री कार्कीले दलहरूले सहयोग गर्नुपर्‍यो भन्ने कुरालाई जोड दिएको उनले जानकारी दिए । ‘हामी जनताको बीचमा गएर परीक्षित हुने कुरामा तयार छौं । हामीले चुनावमा सहभागी हुने अपिल होइन वातावरण खोलिरहेका छौं’, बर्तौलाले भने ।

सरकारप्रति अविश्वास गरिरहेको एमालेलाई विश्वासमा लिने प्रयास स्वरूप प्रधानमन्त्री कार्कीले नेताहरूसँग छलफल गरेकी हुन् ।  छलफलमा महासचिव पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र बर्तौला सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update