Harsamaya
यूएईमा समस्यामा परेका विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न दूतावासको आग्रह 

काठमाडौं - अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ ।समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि आग्रह भएअनुसार कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको भन्दै त्यसमा १५ दिनभित्र विवरण पेस गर्न दूतावासले जनाएको छ ।

नेपालका केही शैक्षिक परामर्श केन्द्रहरूले यूएईका 'फ्रि जोन'हरूमा स्थापित तथा संचालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा नेपाली विद्यार्थीहरू पठाउने गरेको दूतावासको सूचनामा उल्ले छ ।

ती शैक्षिक संस्थामध्ये कतिपय मापदण्डअनुरुप सञ्चालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आबद्ध भएको भनिएकोमा त्यस्तो नपाइएको, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूको आफ्नै भवन नभएको, केही महिना मात्र भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गरी त्यसपछि अनलाइन कक्षा हुने गरेको, प्रतिबद्धताअनुरुप सेवा सुविधा उपलब्ध नगराएको लगायतका गुनासाहरू प्राप्त भैरहेका दूतावासले जनाएको छ ।

पीडित भएका विद्यार्थीहरूले सूचनामा दिइएको लिङ्क वा क्यूआर कोडमा विवरण संकलन फारम भरी १५ दिनभित्र पेस गर्न दूतावासले आग्रह गरेको छ । त्यस्तो विवरण कार्यालयको प्रयोजनका लागि मात्र प्रयोग गरिने पनि जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update