Harsamaya
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित 
जितपश्चात् पोखराका खेलाडीहरू

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।

जनकपुरलाई रोक्न विपीन खत्रीले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा १५ रनमात्र खर्चिएर चार विकेट लिए । सुमित बर्माले दुई विकेट लिँदा कुशल भुर्तेल र जिम्मी निसमले एक–एक विकेट लिए ।

जनकपुरका चार ब्याटरमात्रै दोहोरो अंकसम्म पुग्न सके । आठौँ नम्बरमा ब्याटिङका निम्ति आएका वायन पार्नेलले अर्धशतक बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै जनकपुरका सञ्जय कृष्णमुर्थीले २५ र ओपनर माज सदाकले २० रन थपे । अविजित रहेका ललित राजवंशीले १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको थियो । पोखराका सुमितले सर्वाधिक ५० रन बनाए ।

पोखराबाट ओपनरद्वय दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका निम्ति ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीनेश खरेलले तीन रन बनाए । रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन थपे । जनकपुरका सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update