Harsamaya
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए।

त्यस्तै इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रन जोडे। ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ रन बनाए। सर्फेन रदरफोर्ड ८ रनमा अविजित रहे।

पोखराका धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

पोखराका लागि अर्जुन घर्तीले २५ बलमा अविजित ४० रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। महेदी हसनले २१ बलमा ३२ रन तथा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन जोडे। शाकिब अल हसनले १४ र धनञ्जय लक्षणले ११ रन बनाए भने सदीरा समरविक्रमा ८ रनमा आउट भए।

सुदूरपश्चिमका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। उनले ३ ओभरमा २३ रन खर्चिए। स्कट कुगेलाइन, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक विकेट लिए।

यसअघि पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले पोखरालाई हराउँदै प्रतियोगितामा जितको खाता खोलेको हो।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update