काठमाडौं - लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को ताला बहुमत सदस्यले खोलेका छन्। नेपाली फुटबल क्षेत्र ठप्प बनेको अवस्थामा निकास खोज्न एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा सदस्यहरूले सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका हुन्।
ताला खोलेसँगै उनीहरूले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने घोषणा गरेका छन्। फुटबल क्षेत्रमा देखिएको गतिरोध अन्त्य गर्ने, फिफाको प्रतिबन्ध हटाउने र निर्वाचन प्रक्रियामा देखिएका अवरोधबारे छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिए।
उनका अनुसार एन्फाको विधानअनुसार एकतिहाइभन्दा बढी सदस्यले कार्यसमितिको बैठक बोलाउन माग गर्दा पनि बैठक आह्वान नभएपछि २२औँ दिनमा कार्यालयको ताला खोलिएको हो। त्यसपछि बैठक बस्ने विषयमा छलफल भएको उनले बताए।
नेपाली फुटबलमाथि लागेको प्रतिबन्ध र आन्तरिक विवादको निकास खोज्नु अहिलेको मुख्य आवश्यकता रहेको खड्काको भनाइ छ। फिफाको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत निर्वाचनमा देखिएको अवरोध कसरी हटाउने भन्ने विषय बैठकमा छलफल गरिने उनले बताए।
खड्काले कार्तिक १३ गतेको बैठकमा एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित सम्पूर्ण कार्यसमिति सदस्यलाई उपस्थित हुन आग्रह गरेका छन्। नेपाली फुटबलको भविष्यबारे सबै पक्ष एकै ठाउँमा बसेर निर्णय गर्नुपर्ने उनको भनाइ छ।
उनले बैठकको उद्देश्य कसैलाई पदबाट हटाउने वा कुनै पक्षलाई निषेध गर्ने नभई नेपाली फुटबलमा देखिएको अवरोध हटाएर निकास खोज्नु रहेको स्पष्ट पारे।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले नेपाललाई निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र प्रभावित बनेको छ।

