Harsamaya
मंसिर १० : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बुधबारसम्म १०६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार चुनावमा भाग लिनका लागि बुधबार साँझसम्म १०६ दलले दल दर्ता तथा नवीकरण गरेका हुन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

दल दर्ता गर्ने समय चार दिन थपियो: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ । यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगका हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन् ।

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ । मंसिर ११ अर्थात् भोलीका लागि बोलाइएको पार्टी बैठक केही बेर अघि विज्ञप्ति जारी गर्दै सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले ११ गतेको बैठकलाई सारेर १२ गतेका लागि पुर्‍याइएको पनि बताए । बैठक सरेको जानकारी सहितको विज्ञप्ति जारी भए पनि कारण भने खुलाइएको छैन । यद्यपि पार्टीभित्र महाधिवेशन को विषयमा सहमति जुट्न नसक्दा बैठक सारिएको हो । नेपाली कांग्रेसभित्र हाल नियमित कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । संस्थापन समूह नियमित महाधिवेशन गर्नुपर्ने र त्यो पनि २१ फागुनमा तोकिएको निर्वाचन पश्चात् गर्नुपर्ने अडानमा छ । 

न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु:  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसिए नेपालले आज एक कार्यक्रमको आयोजना गरी न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण शुभारम्भ गरेको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन् । अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको छ । एमसिसी र एमसिए नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दैछौँ ।’

राम सीताको विवाह सम्पन्न: सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको छैटौँ दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा लाखौँ श्रद्धालु भक्तजनको भीडका बिच माता सीता र भगवान् रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ । दुलही झैँ सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौँ श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो । विभिन्न देशका पर्यटकहरूको पनि घुँईचो लागेको थियो ।

बेरोजगार युवालाई मासिक दुई हजार भत्ता:  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए । प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक रु दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् ।

विराटनगरको पहिलो हार: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ । बुधबार भएको खेलमा चितवन राइनोजसँग पराजित भएपश्चात् उसको अपराजित यात्रामा ब्रेक लागेको हो । खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो । विराटनगर २२ बल बाँकी छँदै १२६ रनमा अलआउट भयो। विराटनगरका लागि मार्चेनट डे लाङ्गेले ३९ रनको योगदान गरे । प्रतिश जिसीले ३० र साम हेजलेटले २२ रन थप्दा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । चितवनका लागि रञ्जित कुमारले पाँच विकेट, कमलसिंह ऐरीले दुई, सोहेल तनविर र सैफ जैबले एक–एक विकेट लिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update