Harsamaya
सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ ।

मंसिर ११ अर्थात् भोलीका लागि बोलाइएको पार्टी बैठक केही बेर अघि विज्ञप्ति जारी गर्दै सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले ११ गतेको बैठकलाई सारेर १२ गतेका लागि पुर्‍याइएको पनि बताए ।

बैठक सरेको जानकारी सहितको विज्ञप्ति जारी भए पनि कारण भने खुलाइएको छैन । यद्यपि पार्टीभित्र महाधिवेशन को विषयमा सहमति जुट्न नसक्दा बैठक सारिएको हो ।

नेपाली कांग्रेसभित्र हाल नियमित कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । संस्थापन समूह नियमित महाधिवेशन गर्नुपर्ने र त्यो पनि २१ फागुनमा तोकिएको निर्वाचन पश्चात् गर्नुपर्ने अडानमा छ । यता‚ गगन विश्वप्रकाश दुई महामन्त्री र उनका पक्षमा रहेका नेताहरू भने पुस मसान्तमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।

यी दुबै पक्षले आफूलाई बलियो देखाउन काठमाडौं र ललितपुरका विभिन्न होटेलहरूमा कोठे बैठक तथा विभिन्न स्थानमा कार्यक्रम गर्दै आएका छन् । संस्थापन समूहले दुई दिन अघीमात्र धुम्बाराही स्थित एक होटेलमा रणनीतिक बैठक गरेर कुनै पनि कीमतमा चुनाव अघि महाधिवेशन गर्न नदिने रणनीति बनाएको छ । समूहको बैठक भोली पनि वानेश्वरमा बस्दै छ ।

यता थापा शर्मा पक्षले भने विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सहितको विशेष महाधिवेशन माग गरेको छ । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार मात्र राष्ट्रिय सभा गृहमा दबाब कार्यक्रम सम्पन्न गरेको छ । सहमति खोज्न आज दिनभर कार्यवाहक सभापति र महामन्त्रीहरू छलफलमा बसे पनि सहमति नजुटेपश्चात् बैठक सारिएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update