Harsamaya
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी 
जितपश्चात् चितवनका खेलाडी

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ । बुधबार भएको खेलमा चितवन राइनोजसँग पराजित भएपश्चात् उसको अपराजित यात्रामा ब्रेक लागेको हो ।

खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो । विराटनगर २२ बल बाँकी छँदै १२६ रनमा अलआउट भयो। विराटनगरका लागि मार्चेनट डे लाङ्गेले ३९ रनको योगदान गरे । प्रतिश जिसीले ३० र साम हेजलेटले २२ रन थप्दा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । चितवनका लागि रञ्जित कुमारले पाँच विकेट, कमलसिंह ऐरीले दुई, सोहेल तनविर र सैफ जैबले एक–एक विकेट लिए । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । चितवनका लागि ब्याटिङमा रवि बोपारा चम्किँदा बलिङमा रञ्जित कुमार चम्किए ।

चितवनका लागि अनुभवी ब्याट्सम्यान रवी बोपराले उत्कृष्ट अर्धशतकीय पाली खेले । बोपराले टोलीका लागि ६५ रनको योगदान गरे । विराटनगरका बलर सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिए । शुभम रन्जनेले पनि एक विकेट हात पारे ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update