जनकपुर - सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको छैटौँ दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा लाखौँ श्रद्धालु भक्तजनको भीडका बिच माता सीता र भगवान् रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ ।
दुलही झैँ सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौँ श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो । विभिन्न देशका पर्यटकहरूको पनि घुँईचो लागेको थियो ।
मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयंवर गरिएको थियो । सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो ।
आज विवाह पञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ । यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरुलाई ५६ व्यञ्जन खुवाएर दक्षिणासहित बिदा गर्ने गरिन्छ ।
भगवान् राम र माता सीताको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा धूमधामका साथ विवाह पञ्चमी मनाइने गरिन्छ ।

