Harsamaya
दल दर्ता गर्ने समय चार दिन थपियो
निर्वाचन आयोग ।

काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ ।

यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि आजसम्मका लागि सो समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

आयोगमा दर्ता कायम रहेका ठूलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगका हाल दर्ता कायम रहेका १३२ दलमध्ये ८० दलले निर्वाचनमा भाग लिन निवेदन दिइसकेका छन् ।

यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी माघ ६ गते हुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति आउन अब ९९ दिन बाँकी रहेको छ । 

यसैगरी आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update