प्रधानमन्त्री सुशीला कार्कीले अन्तर निर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा गृह मन्त्रालयबाट मन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोली सहभागी थियो । छलफलमा कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो । नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने : नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताइन् । उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ । मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ ।
इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन: प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई बिहीबार सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पारेकी हुन् । “उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ। यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ?‚” उनले भनिन् । सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम गरेर जसरी पनि नतिजा दिनुपर्ने उनले बताइन् । साथै उनले कुनै प्रक्रियागत बहाना नगरी जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेट गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिइन् ।
एनपीएल दोस्रो संस्करणको टिकट मूल्य: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो । क्यानका अनुसार उद्घाटन खेल हेर्नका निम्ति सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अन्य दिनमा सामान्यतर्फ ५०० र प्रिमियममा एक हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जारी गरेको मूल्यमा उल्लेख छ ।
मधेश प्रदेशका पाँच सांसद् पदमुक्त: मधेश प्रदेशका सभाका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको सचिवालयले विज्ञप्ती जारी गर्दै पाँच सांसदलाई पदमुक्त गरिएको जानकारी गराएको छ । लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै पाँचजना सांसदलाई पदमुक्त गरिएको हो । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई केही समय अघी पदमुक्त गरेका हुन् ।आफूमाथी पद अनुकुल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता भएपश्चात् उनले पाँच जना सांसदलाई कारबाही गरेका हुन् ।
नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्ति सुनिश्चित गर्न गरिएको हो । ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ बैंकनोटको डिजाइन, छपाइ र आपूर्तिका लागि मिति २०८२/०४/०९ मा बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङलाई सम्झौता गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।सम्झौताअनुसार यस परियोजनाको मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख बराबर नेपाली रुपैयाँ) रहेको छ ।
खापुङलाई विदेश भ्रमणमा रोक: भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई घटनाबारे छानबिनका लागि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ । आयोगको आज बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा उपस्थित हुन आवश्यक देखिएकाले हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । खापुङ आजैदेखि सेवा निवृत भएका हुन् । आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ ।

