Harsamaya
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताइन् ।

उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ । मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ । 

पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ । दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ ।

तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ । चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update