काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई बिहीबार सिंहदरबारमा बोलाएर उनले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने स्पष्ट पारेकी हुन् । “उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ। यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ?‚” उनले भनिन् ।
सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम गरेर जसरी पनि नतिजा दिनुपर्ने उनले बताइन् । साथै उनले कुनै प्रक्रियागत बहाना नगरी जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेट गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिइन् ।
देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह उनको आग्रह थियो । “मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन। गलत काम गर्दा मात्र डराउनुहोस्‚” उनले भनिन् ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेती लगायतको उपस्थिति थियो।

