काठमाडौं - सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । गृह मन्त्रालयले बुधबार मन्त्रालयमा बोलाएर प्रसाईं समूहसँग वार्ता गरेको हो ।
छलफलका क्रममा प्रसाईं समूहले ७ मंसिरबाट हुने आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने बताएका छन् । यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको छलफलपछि प्रसाईं समूहले औपचारिक पत्र लेख्दै आफ्ना मागहरूबारे ज्ञापनपत्र बुझाउन मन्त्रालयसँग माग गरेको थियो ।
प्रसाईंको तर्फबाट २७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । जहाँ संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रतक्ष्य निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मको माग राखेका छन् । पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।

