Harsamaya
गगन थापालाई अमरेशको प्रश्न: ‘१८ करोडमा न्याय नै प्रभावित पार्न खोज्नेले सत्ता पाए के गर्ला ?’

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसमाथि कडा राजनीतिक प्रहार गरेका छन् । उनले सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको कुरा गर्नेहरू नै शक्ति र पैसाको आडमा राजनीतिक तथा न्यायिक प्रक्रिया प्रभावित पार्न खोजेको भन्दै प्रश्न उठाएका हुन् ।

सिंहले सञ्चारमाध्यममा आएका १८ करोड रुपैयाँको लेनदेनमार्फत पार्टीको आधिकारिकता प्राप्त गरेको भन्ने समाचारप्रति सामाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो विषय सत्य भए गम्भीर छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

उनले नयाँ राजनीतिक आवरण र सुशासनको नाराले मात्रै कसैलाई इमानदार प्रमाणित नगर्ने उल्लेख गर्दै पर्दापछाडि शक्ति, पैसा र बिचौलियाको खेल खेल्ने प्रवृत्तिले देशको भविष्य सुरक्षित नहुने टिप्पणी गरेका छन् ।

'आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामाथि पैसाको प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला ?' भन्दै उनले प्रश्न गरेका छन् ।

सिंहले सञ्चारमाध्यममा आएका समाचार सत्य भए कानुनअनुसार कठोर कारबाही गर्न र असत्य भए तथ्यसहित जनतालाई स्पष्ट पार्नसमेत माग गरेका छन् ।

'जनतालाई अब भाषण होइन, हिसाब चाहिएको छ' भन्दै उनले राजनीतिक नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update