काठमाडौं - मुलुकका राजनीतिक, न्यायिक र जनजीविकासँग जोडिएका विषय संसद्बाटै टुंग्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न सरकारसँग आग्रह गरेका छन्। संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत राज्य सञ्चालनका विषय अघि बढाउँदा संसद्को गरिमा र भूमिकामाथि प्रश्न उठ्ने प्रतिपक्षीको निष्कर्ष छ।
सोमबार नेपाली कांग्रेसले आह्वान गरेको प्रतिपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यथाशीघ्र संसद् बैठक बोलाउनुपर्ने बताएका हुन्।
बैठकमा बिचौलियासँग सम्बन्धित प्रकरण, न्यायालयमाथि उठेका प्रश्न, प्रेससँग जोडिएका संवेदनशील विषय, प्रहरीसँग सम्बन्धित घटना तथा प्रधानमन्त्री र उहाँको सचिवालयसँग जोडिएका विषयमा छलफल भएको आङ्देम्बेले जानकारी दिए।
उनका अनुसार सतहमा विभिन्न विषयमा चर्चा गर्नुको सट्टा संसद्भित्र संस्थागत बहस गरेर सत्यतथ्य खोज्न आवश्यक छ।
‘हरेक कुरा अध्यादेशबाट लिएर जाने हो, अध्यादेशबाट मात्रै सबै कुराको निष्कर्ष खोज्दै जाने हो भने संसद्को अपरिहार्यता र त्यसको जुन एउटा गरिमा छ, त्यसमाथि पनि प्रश्नहरू उठ्न सक्छन्,’ आङ्देम्बेले भने, ‘चाँडोभन्दा चाँडो संसद् बोलाएर यस्ता उठेका कुराहरूको विषयमा संसद्बाट टुङ्गो खोज्नुपर्ने छ।’
प्रतिपक्षी दलहरूले विभिन्न घटनाको छानबिन गर्न गठित समितिहरूको काम र निष्कर्षबारे पनि छलफल गरेका छन्। रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट विस्थापित नागरिकले अझै राहत र घरभाडा नपाएको विषय बैठकमा उठाइएको आङ्देम्बेले बताए।
बढ्दो महँगी, विपद्पछिको पुनर्स्थापना तथा राज्यका महत्वपूर्ण निकायमाथि उठेका प्रश्नहरूको निरूपण संसद्बाटै हुनुपर्ने प्रतिपक्षीको माग छ। न्यायिक तथा अन्य विश्वसनीय निकायमाथि अविश्वास बढ्दै गएको भन्दै निष्पक्षता र पारदर्शितासम्बन्धी प्रश्न संसद्भित्र बहस गरेर समाधान गर्नुपर्ने उनीहरूको भनाइ छ।
बिचौलियासँग सम्बन्धित प्रकरणको छानबिनमा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता पनि आङ्देम्बेले दोहोर्याए। उनले प्रकरणमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूले गरेका काम सार्वजनिक गर्नुपर्ने बताए।
‘बिचौलियासँग सम्बन्धित जे–जे विषयवस्तु हो, त्यसको जरासम्म पुगेर छानबिन गर्नुहोस्। को–को पर्छन्, को–कोले के–के गरेका छन्, यो सबै बाहिर ल्याउनुस्,’ उनले भने, ‘यससँग सम्बन्धित विषयवस्तु छानबिन गर्नुपर्ने कुरामा हाम्रो सहयोग रहन्छ।’
बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं सांसद प्रवेश हमालले पनि जनजीविका, विपद् व्यवस्थापन, पुनर्निर्माण र राष्ट्रिय राजनीतिक विषयमा संसद्भित्र गम्भीर छलफल आवश्यक रहेको बताए।
उनले बिचौलियाहरूले राज्यसत्तामाथि प्रभाव जमाउन खोजेको विषयमा संसद्मा बहस हुनुपर्ने धारणा राखे। जनताले विपद्बाट पाउनुपर्ने राहत तथा पुनर्निर्माणका विषयमा पनि संसद्ले गम्भीरतापूर्वक छलफल गर्नुपर्ने उनको भनाइ छ।
प्रतिपक्षी दलहरूले संसद्को अधिवेशन आह्वान गरी जनताका समस्या, राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नहरूमा बहस गर्नुपर्ने निष्कर्ष निकालेका छन्। संसद् बैठक आह्वानका विषयमा सभामुखसँग पनि छलफल गर्ने आङ्देम्बेले जानकारी दिएका छन्।

