Harsamaya
कात्तिक २४ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज बिहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । यादव मुख्यमन्त्रीमा अवैध रूपमा नियुक्त भएको भन्दै सर्वोच्च अदालतमा दुई रिट दर्ता भएका छन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यस्तै बैठकले मधेश प्रदेश प्रमुख परिवर्तन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। साथै बैठकले २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

भण्डारीलाई पदमुक्त गरिने
सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बुझाइयो दश बुँदे ज्ञापनपत्र
प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो। आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरूको रहेको थियो । 

किसान धर्नामा
सर्लाहीको धन कौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले किसानलाई वर्षौँदेखि दिन बाँकी उखुको भुक्तानी नदिएपछि किसानहरू पुनः आन्दोलनमा उत्रिएका छन् । उद्योगले आफ्नो बक्यौता रकम नतिरेको भन्दै किसानहरूले आइतबारदेखि उद्योगको गेटमै धर्ना सुरु गरेका हुन् । किसानहरूले आर्थिक वर्ष २०७०/७१ देखि नै उखुको रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । गत वर्ष उखुको मूल्य तोक्दै नतोकिएको अवस्थामा मिल सञ्चालन गरिएको थियो । त्यसपछि पनि किसानहरूले बारम्बार माग गर्दा समेत रकम नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

एनपीएलको खेल तालिका सार्वजनिक
पाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार मंसिर १ गते उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ ।

भारतमा कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेसननजिक कार विस्फोट भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको विस्फोटमा अन्य २४ जना घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो । विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा गाडीमा पनि आगो लागेको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update