भारतमा कार विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु
काठमाडौं - भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेसननजिक कार विस्फोट भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ भएको विस्फोटमा अन्य २४ जना घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो ।
विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा गाडीमा पनि आगो लागेको थियो । जसकारण ती गाडीहरू जलेर नष्ट भएका छन् ।
घटनाको सूचना पाएलगत्तै दिल्ली फायर सर्भिसका सातवटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । विस्फोटपछि उक्त क्षेत्रमा भागदौड मच्चिएको थियो । विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

