Harsamaya
संघ-महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्रीको छलफल: बुझाइयो दश बुँदे ज्ञापनपत्र
तस्वीरः प्रधानमन्त्री कार्कीको सचिवालय

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग आज दिउँसो बालुवाटारमा छलफल गरेकी हुन् । उनले पछिल्लो समय उत्पन्न परिस्थितिमा स्थानीय सरकारले गरिरहेका काम कारबाही, भोग्नुपरेका समस्या र निर्वाचनको तयारीका सम्बन्धमा छलफल तथा परामर्श गरेकी हुन् । 

संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित अघि बढ्ने विषयमा उपस्थित सबैको एकमत थियो। आगामी निर्वाचनको वातावरण बनाउनका लागि मुलुकमा सुशासन र शान्ति सुव्यवस्था कायम गराउन पनि सहकार्य गर्नुपर्ने उनीहरूको रहेको थियो । 

सो अवसरमा गाउँपालिका संघ र नगरपालिका महासंघले प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । जसमा जनप्रतिनिधिमाथि राजिनामाको दबाब, तोडफोड, लुटपाट नियन्त्रण गरी शान्ति-सुरक्षा सुनिश्चित गर्नुपर्ने सहितका विषय रहेका थिए । ज्ञापनपत्र बुझाउँदै उनीहरूले भनेका थिए‚“स्थानीय तहमा नागरिकलाई दैननदिन सेवा प्रवाहमा प्रतिकुल असर परिरहने स्थितीको अन्त्य गर्न नेपाल सरकारले कुनै ठोस पहल नगरेमा सबै गाउँपालिका र नगरपालिकाहरुमा अत्यावश्यक सेवा प्रवाह तथा विकास निर्माण अबरुद्ध हुँदा उत्पन्न हुने परिस्थितीको नेपाल सरकारसमेत जिम्मेवार हुने तर्फ ध्यानाकर्षण गरेको छ।”

संघ/महासंघको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री सुशिला कार्कीले स्थानीय सरकारले उठाएका सवालहरुमा सरकार गम्भिर भएको, योजना कटौती र कर्मचारी सम्बन्धी विषयलाई सम्बोधन गर्नै तत्कालै सम्बन्धित मन्त्रीलाई आदेश गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उक्त अवसरमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका राष्ट्रिय महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानासहित विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो।

1-1762785278.jpg
2-1762785278.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update