Harsamaya
असोज ८ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौँ - बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएका हुन् । अरू के के भए दिनभर । मुख्य समाचारहरू 

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने 
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्य तालिका तय भएको छ ।‘जेनजी’आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी थिइन् । गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो । 

राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजी समूहले गठन गर्‍यो वार्ता टोली 
जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारका प्रतिनिधिसँग छलफल गर्न सुदन गुरुङ सहितको वार्ता टोली गठन गरेको छ । जेनजीहरूको आज बैठकले सुदन गुरुङ, पुरुषोत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितको टोलीले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । तर वार्ता टोली गठन गरे पनि छलफल कहिले गर्ने भन्ने मिति भने तय भइसकेको छैन । 

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी 
राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र काँग्रेस उपसभापति पूर्णबहादुर खड्काबिच भेटवार्ता भएको छ । बुधबार कोइरालाको विशालनगरस्थित सचिवालयमा कोइराला र खड्काबिच भेटवार्ता भएको हो । भेटमा देशको पछिल्लो अवस्थाका बारेमा छलफल भएको कोइरालाको सचिवालयले जानकारी दिएको छ । यस्तै आज नै कोइराला र महामन्त्री गगन थापाबिच पनि भेटवार्ता भएको छ । विशेष महाधिवेशन गर्ने भन्दै हस्ताक्षरमा लागेका थापा र कोइरालाबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गत महाधिवेशनमा कोइराला र थापाबिच एउटै टिमबाट निर्वाचन लडे पनि पछिल्लो समय उनीहरूको सम्बन्ध सुखद नरहेको काँग्रेस वृत्तमा चर्चा छ । 

डा बाबुराम भट्टराईद्वारा नेसपा नयाँ शक्तिको अध्यक्ष पद त्याग
नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्यागेका छन् । आज बसेको नेसपा (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा अध्यक्ष डा भट्टराईले गरेको पदत्यागको प्रस्ताव केन्द्रीय समितिद्वारा स्वीकृत गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए । 

मन्त्री घिसिङ र चिनियाँ राजदूतबिच भेटवार्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदुत चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

हतियार लुट्ने पक्राउ
जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट हतियार लुट्ने चार जनालाई कैलालीबाट पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखाको विशेष सूचनाको आधारमा हतियार लुटी लुकाएका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, सोही ठाउँका १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन्। साथै गौरीगंगा नगरपालिका–३ का २० वर्षीय जिबेश सापकोटा पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। 

तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने 
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ । मङ्गलबार दिउँसो ४:३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ । सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । लामिछानेले पहिरोको तस्बिर हेर्दा माथिबाट अरू थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरू पूर्ण रूपमा झरि नसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए । सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । 

काँग्रेसले लियो समर्थन फिर्ता 
मधेश प्रदेश सरकारबाट नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको छ । आज जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update