Harsamaya
पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र काँग्रेस उपसभापति पूर्णबहादुर खड्काबिच भेटवार्ता भएको छ । बुधबार कोइरालाको विशालनगरस्थित सचिवालयमा कोइराला र खड्काबिच भेटवार्ता भएको हो । भेटमा देशको पछिल्लो अवस्थाका बारेमा छलफल भएको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

सभापति शेरबहादुर देउवा जेनजी प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पताल भर्ना भएपछि खड्काले पार्टीको गतिविधि अगाडि बढाएका छन् । यस्तै आज नै कोइराला र महामन्त्री गगन थापाबिच पनि भेटवार्ता भएको छ । विशेष महाधिवेशन गर्ने भन्दै हस्ताक्षरमा लागेका थापा र कोइरालाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत महाधिवेशनमा कोइराला र थापाबिच एउटै टिमबाट निर्वाचन लडे पनि पछिल्लो समय उनीहरूको सम्बन्ध सुखद नरहेको काँग्रेस वृत्तमा चर्चा छ । कोइरालाले जेनजी प्रदर्शन अघि देखिनै नियमित महाधिवेशन समयमै हुनुपर्ने को कुरा उठाइरहेका छन् । अहिले पनि उनी नियमित महाधिवेशनकै अडानमा छन् । काँग्रेसको केन्द्रीय समितिको पदावधि आउँदो मङ्सिरमा सकिँदै छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update