Harsamaya
काठमाडौंको रामशाहपथबाट हतियार लुट्ने  कैलालीमा पक्राउ

कैलाली - जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट हतियार लुट्ने चार जनालाई कैलालीबाट पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखाको विशेष सूचनाको आधारमा हतियार लुटी लुकाएका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय हिमाल आचार्य, सोही ठाउँका १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन्। साथै गौरीगंगा नगरपालिका–३ का २० वर्षीय जिबेश सापकोटा पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।  जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनीहरू सबैलाई काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update