Harsamaya
सार्वजनिक बसबाट खैरो हेरोइनसहित तीन भारतीय पक्राउ, सुन्धाराबाट थप दुई जना समातिए
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जनकपुरबाट काठमाडौं आउँदै गरेको सार्वजनिक बसमा सवार तीन भारतीय नागरिकलाई ३२.७३० ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरूले खरिद गरी लैजान खोजेको लागुऔषध लिन आएका थप दुई जनालाई काठमाडौंको सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार थानकोट शाखा कार्यालय र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गमा सार्वजनिक सवारीसाधन तथा शङ्कास्पद यात्रुको जाँच गर्ने क्रममा बसमा सवार तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको समस्तीपुर जिल्लाका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन्।

उनीहरूको बयान तथा अनुसन्धानका क्रममा लागुऔषध खरिद गरी लिन आउने थप दुई जनालाई काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित एक होटलबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

पक्राउ पर्ने थप दुई जनामा धादिङको गल्छी गाउँपालिका–६ की २३ वर्षीया कृष्टी खड्की र सोही स्थानका २५ वर्षीय रामकृष्ण खड्की रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ३२.७३० ग्राम खैरो हेरोइन, ट्रामाडोल १ हजार ११० क्याप्सुल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगद बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १४:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update