रुपन्देही - भारतबाट खैरो हेरोइन खरिद गरी ल्याएर लुम्बिनी प्रदेशका सहरी क्षेत्रमा बिक्री गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ बाट उनीहरूलाई १५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोरखपुर, कोतवाली थाना बेनीगञ्जका ३५ वर्षीय मनिष सिंह र ३६ वर्षीय तब्बिर मुसलमान तथा कपिलवस्तुको मायादेवी गाउँपालिका–६ का २९ वर्षीय सफिक मुसलमान रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, एउटा मोटरसाइकल, एउटा स्कुटर र नौ थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।

