Harsamaya

काठमाडौं -  बाहिरबाट हेर्दा सामान्य भाडाको घर । भित्र चलिरहेको थियो सुनलाई नयाँ रूप दिने गोप्य काम । कसैलाई शङ्का नहोस् भनेर सुनलाई ठोस बिस्कुटका रूपमा होइन, लेसिलो अर्धतयारी अवस्थामा राखिएको थियो । सुन पगाल्ने मेसिन, आकार दिने उपकरण, तौलिने तराजु र ओसारपसारका लागि प्रयोग हुने गाडी सबैको व्यवस्था मिलाइएको थियो। तर लामो समयदेखि निगरानीमा रहेको उक्त घरबाट एउटा गाडी अचानक बाहिरिन खोजेपछि प्रहरीको शङ्का पुष्टि हुने बाटो खुल्यो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-०२, माथिल्लो भङ्गालस्थित भाडाको घरमा प्रहरीले छापा मार्दा बाहिरियो, २१ किलो ७५० ग्रामभन्दा बढी सुन र त्यसको मूल्य ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी । प्रहरीका अनुसार यो केवल सुन बरामद भएको घटना थिएन । नेपालमा सुन ल्याउने, गोप्य स्थानमा प्रशोधन गर्ने र निश्चित ठाउँमा पुर्‍याउने योजनासहित सञ्चालन भइरहेको सञ्जालको प्रारम्भिक पर्दाफास थियो ।

प्रहरीले केही समयदेखि उक्त घरमा अवैध सुनको कारोबार भइरहेको सूचना पाएर निगरानी गरिरहेको थियो । घरमा चिनियाँ नागरिकहरू बस्ने र उनीहरूको गतिविधि असामान्य रहेको सूचनापछि प्रहरी टोलीले उनीहरूको आवतजावतसमेत नियालिरहेको थियो ।

प्रहरीका अनुसार उनीहरू घरबाट निकै कम निस्कन्थे । बाहिरी मानिससँगको सम्पर्क पनि सीमित थियो । यही कारण अनुसन्धान टोलीले लामो समयसम्म उनीहरूको गतिविधि नियाल्नुपरेको थियो । तर एक दिन घरबाट एउटा गाडी अचानक बाहिरिन खोज्यो । निगरानीमा रहेका प्रहरी कर्मचारीले गाडी रोकेर नियन्त्रणमा लिए । त्यसपछि थप प्रहरी अधिकारी घटनास्थल पुगे र घरभित्र प्रवेश गरी जाँच गर्दा सुन प्रशोधन गर्ने उपकरणसहित ठूलो परिमाणमा सुन र नगद फेला पर्‍यो ।

Chinease-Gold-Case-1791605905.jpg
प्रहरीले नियन्त्रणमा लिएको चिनियाँ नागरिक वर्ष २७ का चिनियाँ नागरिक हान फेइ, वर्ष ४७ का झोउ लङकुइन र ३७ वर्षका वाङ ज्याङहेन । तस्वीर : हर समय/Har Samaya 

प्रहरीको प्रारम्भिक अनुमानमा उक्त गाडीमा राखिएको सुन कसैलाई बुझाउन लैजान लागिएको थियो । तर त्यो सुन कहाँ पुर्‍याइँदै थियो, कसले लिन आउँदै थियो र त्यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने प्रश्नको उत्तर अझै खुलेको छैन । गाडी गेटबाट बाहिरिन खोजेको त्यही क्षणले करोडौँको सुन कारोबारको पर्दा खोल्यो, तर सुनको वास्तविक मालिक र त्यसको बजारसम्म पुग्ने बाटो अझै अनुसन्धानकै घेरामा छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हान फेइ, झोउ लङ कुइन र वाङ ज्याङहेन रहेका छन्। प्रहरीले उनीहरू बस्ने घरबाट सुनका विभिन्न स्वरूप, सुन प्रशोधन गर्ने उपकरण, तौलिने तराजु, नगद, राहदानी, विभिन्न बैंकका एटिएम कार्ड, सिमकार्ड तथा विद्युतीय उपकरण बरामद गरेको जनाएको छ। सुन ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले चीनको ग्वान्जाउमा बस्ने जेन जिया ललाई यो सञ्जाल सञ्चालन गर्ने मुख्य व्यक्तिका रूपमा पहिचान गरेको छ । पक्राउ परेका हान फेइले जेन जिया लको निर्देशनमा काम गर्ने गरेको प्रहरीको भनाइ छ ।

अनुसन्धानअनुसार सु ख्याङ नामका चिनियाँ नागरिकले उक्त घर मासिक तीन लाख ३० हजार रुपैयाँ भाडामा लिएका थिए । चार महिनाको १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेर लिइएको घरको चाबी उनले चीन फर्किएपछि जेन जिया ललाई दिएका थिए । त्यसपछि जेन जिया लले हान फेइ र झोउ लङकुइनलाई घरको चाबी दिएर नेपाल पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये दुई नागरिक असोज ११ गते र सु ख्याङ असोज १५ गते नेपाल आएको अभिलेखबाट पुष्टि भएको छ । सु ख्याङ भने हाल नेपालमा नरहेको प्रहरीको भनाइ छ । उनको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ ।

बरामद सुनको स्वरूपले पनि प्रहरीको ध्यान तानेको छ। सबै सुन तयारी अवस्थामा रहेका बिस्कुट आकारका ढिक्का थिएनन्। केही सुनजस्तो देखिने पहेँलो धातु लेसिलो तथा अर्धतयारी अवस्थामा प्याकेटमा राखिएको थियो ।

प्रहरीले नेपाल सुनचाँदी तथा रत्न तथा आभूषण महासङ्घबाट परीक्षण गराउँदा विभिन्न स्वरूपमा रहेको सुनको कुल तौल प्लास्टिकसहित २१ किलो ७५०.६८ ग्राम पाइएको जनाएको छ । त्यसको बरामद हुँदाको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको प्रहरीको विवरण छ ।

प्रहरीले घरभित्र सुन सुकाउने, पगाल्ने, विभिन्न आकार दिने, चिस्याउने र सफा गर्ने प्रक्रियामा प्रयोग हुने उपकरण फेला पारेको छ। लेसिलो अवस्थामा रहेको सुनलाई बिस्कुट, गोलो वा अन्य आकारमा ढाल्न सकिने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको बुझाइमा अर्धतयारी अवस्थामा रहेको सुनलाई विभिन्न स्थानमा लुकाउन तथा छुट्टाछुट्टै रूपमा ओसारपसार गर्न सहज हुने भएकाले यस्तो विधि अपनाइएको हुन सक्छ । तर सुनलाई यही स्वरूपमा नेपाल ल्याइएको हो वा नेपालमै त्यसरी तयार पारिएको हो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

प्रहरीका अनुसार हान फेइले नेपाल आइपुगेपछि विमानस्थलस्थित गाडी भाडा सेवाबाट बीवाईडी एट्टो–३ गाडी लिएका थिए। असोज १० देखि २५ गतेसम्मका लागि दैनिक आठ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको उक्त गाडी सुन ओसारपसारमा प्रयोग भएको प्रहरीको भनाइ छ। गाडी चालकसहित नभई आफैँ चलाउनका लागि भाडामा लिइएको थियो ।

पूरा भिडियो :


प्रहरीले उक्त गाडीबाट सुन डेलिभरीका लागि लैजान लागिएको अनुमान गरेको छ । तर सुन कसलाई बुझाउने तयारी थियो भन्नेबारे पक्राउ परेका व्यक्तिहरूले सहयोग नगरेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका नागरिकहरूलाई पर्यटन प्रवेशाज्ञामा नेपाल आएको पाइएको छ। उनीहरू हङकङ हुँदै नेपाल आएको जानकारी पनि प्रहरीले दिएको छ ।

अनुसन्धानको अर्को महत्त्वपूर्ण पाटो सञ्चार सञ्जाल हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई नेपालमा कहाँ जाने, कसलाई सामान बुझाउने र कसरी काम गर्ने भन्ने निर्देशन चीनमा रहेका जेन जिया लले वीच्याटमार्फत दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीको भनाइमा सञ्जालमा संलग्न व्यक्तिहरूलाई सीमित सूचना मात्र दिने गरिएको थियो। सुन तयार पार्ने, ओसारपसार गर्ने र बुझ्ने जिम्मेवारी अलग-अलग व्यक्तिमा बाँडिएको हुन सक्ने प्रहरीको आशङ्का छ । 

यद्यपि सुन नेपालसम्म कुन बाटोबाट आइपुग्यो भन्ने विषय अझै खुल्न सकेको छैन । स्थलमार्ग, हवाईमार्ग वा अन्य माध्यम प्रयोग गरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चिनियाँ पक्षसँग सहयोग मागिसकेको जनाएको छ । विशेष गरी वीच्याटमा भएका कुराकानी र सम्पर्कसम्बन्धी विवरण प्राप्त गर्न सहयोग महत्त्वपूर्ण हुने अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

प्रहरीका अनुसार हालसम्मको अनुसन्धानमा कुनै नेपाली नागरिकको संलग्नता पुष्टि भएको छैन । तर अनुसन्धान जारी रहेकाले सुन कारोबारसँग सम्बन्धित अन्य व्यक्ति तथा सञ्जालबारे निष्कर्षमा पुग्न बाँकी छ । प्रहरीले विगतमा भएका सुन तस्करीका घटनासँग पनि यस घटनाको सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेको जनाएको छ । सुनको स्रोत, नेपाल भित्र्याउने माध्यम, सम्भावित खरिदकर्ता र अन्तिम बजार पहिचान गर्ने प्रयास भइरहेको छ ।

प्रहरीले सुन कारोबारको मुख्य व्यक्ति पहिचान गरिसकेको दाबी गरे पनि विदेशमा रहेका व्यक्तिलाई नेपाल ल्याएर कानुनी कारबाहीको दायरामा ल्याउने विषयमा थप अनुसन्धान र आवश्यक परे अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनको सहयोग लिनुपर्ने हुन सक्ने जनाएको छ ।

बुढानीलकण्ठको एउटा भाडाको घरबाट बरामद भएको सुनको परिमाण र मूल्यले घटनालाई गम्भीर बनाएको छ। तर यसको वास्तविक रहस्य सुनको तौल वा बजार मूल्यमा मात्र सीमित छैन ।

यो सुन कहाँबाट आयो ? कसले नेपालसम्म ल्यायो ? कसको लगानीमा प्रशोधन भइरहेको थियो ? गेटबाट निस्कन खोजेको गाडी कहाँ जाँदै थियो ? र अन्ततः सुन कसको हातमा पुग्ने थियो ? यी प्रश्नको उत्तरले मात्र यो घटनाको पूर्ण स्वरूप खुल्नेछ । 

अहिलेसम्म प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ, सुन प्रशोधन गर्ने स्थान फेला पारेको छ र विदेशमा रहेको भनिएको मुख्य व्यक्तिको पहिचान गरेको जनाएको छ । तर सुनको स्रोतदेखि अन्तिम खरिदकर्तासम्मको शृङ्खला पुष्टि हुन बाँकी छ ।  एउटा भाडाको घर, गोप्य रूपमा चलिरहेको सुन प्रशोधन, दैनिक आठ हजार रुपैयाँको गाडी र ५४ करोड भन्दा बढीको सुन  प्रहरीको अनुसन्धान अब यही सुनको वास्तविक यात्रा पत्ता लगाउने मोडमा पुगेको छ ।

तस्वीरहरु :-

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update