Harsamaya
विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजसहित दुई चिनियाँ महिला पक्राउ

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासिफिकको विमानमार्फत मङ्गलबार राति काठमाडौँ आएका उनीहरूलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेका अनुसार दुवै महिलाले मलद्वार र भित्री वस्त्रमा लुकाएर सुनजस्तो देखिने पदार्थ ल्याएका थिए । जाँचका क्रममा शङ्कास्पद वस्तु फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका महिलाको साथबाट दुई किलो ३४८ ग्राम तौलको सुनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । परीक्षणपछि मात्रै उक्त पदार्थ सुन भए/नभएको पुष्टि हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update