
काठमाडौं - अन्तरिम सरकार बनेसँगै मन्त्रिपरिषद् चार सदस्यीय भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आइतबार थप तीन मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूले आज शपथ लिएका छन् । अरु दिनभर मुख्य के के भए त ?
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याल पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
जेनजी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई काजकिरिया वापत एक लाख दिने
गृह एंव कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका छन् । उनले मृतकहरुको परिवारलाई काजकिरिया वापत प्रति मृतक एक लाख उपलब्ध गराउने र परिवारको सदस्यहरुको आग्रह अनुसार शवहरुको व्यवस्थापनको लागि निःशुल्क सवारी साधन एंव दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने निर्णय पनि भएको बताए ।
डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय
नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले वक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो ।
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ । सोमबार निर्वाचन आयोगले प्रेस विज्ञप्ती जारी गर्दै रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको जानकारी गराएको हो । आयोगले कात्तिक १७ गते रुपन्देही-३ मा निर्वाचन गर्ने तयारी गरेको थियो ।
महान्यायाधिवक्ता भण्डारीले लिइन् शपथ
महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।
६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण
जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा असर परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।