
ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।
फागुन २१ मा हुने चुनाव सफल बनाउन राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् ।
प्रतिनिधि सभा विघटनको विपक्षमा आठ पार्टी
भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठ वटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले असहमति रहेको जनाएको हो । विज्ञप्तिमा आठ पार्टीका प्रमुख सचेतक र एक पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् । उनीहरुले प्रतिनिधि सभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्वोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गरेका छन् ।
जेनजी आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री अस्पताल
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेटेकी छन् । शनिबार काठमाडौंको मीन भवनमा रहेको सिभिल अस्पताल र सुन्धारामा रहेको वीर अस्पतालको ट्रमा सेन्टर पुगेर भेटेकी हुन् । प्रधानमन्त्री कार्कीले अस्पतालमा उपचाररत घाइतेहरूसँग व्यक्तिगत रूपमा कुराकानी गर्दै उपचारको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
उनले सम्बन्धित चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य स्थिति, उपचारको प्रगति, र आवश्यक सहयोगका विषयमा छलफल गरेकी छिन् ।
रवि लामिछाने कारागार फर्किए
रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार रवि लामिछने कारागार आइपुगेका जानकारी दिए । जेन–जी आन्दोलन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि कारागारमा तोडफोड भएपछि लामिछाने भदौ २४ मा कारागारबाट निस्किएका थिए ।कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेपछि लामिछाने शनिबार साँझ कारागार पुगेका हुन् ।
२० माओवादी नेताको घर जलाइए
जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेनजीहरुले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयपनि क्षतिग्रस्त छ ।