Harsamaya
भदौ २९ - दिनभर के के भए ? 
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - जेनजीहरूले गरेको प्रदर्शनपछि देशले अन्तरिम प्रधानमन्त्री पाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आइतबार पदभार ग्रहण गरेकी छिन् । यस्तै आज नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । अरु देशमा मुख्य के के भए त ?

तीन मन्त्री नियुक्त
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार साँझ विस्तार गरेको मन्त्रिपरिषद्मा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण 
अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

सुमना श्रेष्ठले त्यागिन् रास्वपा 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । उनले कहिलै गल्ती नस्वीकार्ने , गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्न समेत गरेकी छिन् । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उनको आरोप छ । त्यस्तै उनले आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गरी कि हटाउने कि हट्ने काम गर्न अन्य पार्टीका नेताहरुलाई सुझाव समेत दिइन् ।

जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र  १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् । त्यस्तै उनले प्रदर्शनकारीबाट ५९ जना ,कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जना गरी जम्मा ७२ जनाको मृत्यु भएको सरकारी डाटा रहेको पनि जानकारी दिए ।

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा कुटाकुट
जेनजीका विषयमा भइरहेको विवाद लगायतका विषयमा ‘हामी नेपाली’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ । आइतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो । मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए । तर, अचानक उनलाई बाहिरबाट प्रेस मिटमा छिरेका व्यक्तिले सोधेको प्रश्नले माहोल तातेको थियो । अन्तमा दुई पक्षबीच कुटाकुट भएको थियो । 

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामालाई स्वीकृत गरी भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन् । भण्डारी नेपालको प्रथम महिला महान्यायाधिवक्ता हुन् ।

भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव 
काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update