
डा . जानुका नेपाल पौडेल (पीएचडी) एक शिक्षक हुन् । उनी नील बाराही माध्यमिक विद्यालय, टंकेश्वर कालिमाटीकी प्रधानाध्यापक हुन् । पिता स्व. टंकनाथ शास्त्री र माता मोहमाया नेपालको कोखबाट जन्मिएकी उनको लेखन यात्रा सानैदेखि सुरु भएको हो। कपीमा आफ्नो मनमा लागेका कुराहरू दैनिकी जस्तो लेख्थिन्। केटा-केटी हुर्काइसकेपछि जानुकालाई समय व्यवस्थापन गर्न सजिलो भयो । उनले पीएचडीबाट आफ्ना रुचिहरू पूरा गर्न सुरु गरिन् । उनले विभिन्न पत्रपत्रिकाहरू (गोरखापत्र, अन्नपूर्ण पोस्ट आदि)मा लेखहरू लेख्न थालिन् । विभिन्न विद्यालयहरूबाट प्रकाशन हुने स्मारिकाहरूमा उनका लेख पढ्न पाइन्छ। गुगलमा डा. जानुका नेपाल भनेर खोज्दा महिलासम्बन्धी विषयका लेखहरू पाउन सकिन्छ । त्यसरी नियमित रूपमा नै उनको लेखाइ जारी रह्यो । उनका ‘तनुजा’ र ‘जननी कुञ्ज’ दुई कथा कृति छन् । उनै पौडेलसँग हर समयले राखेको तीन प्रश्न।
कसबाट र कसरी प्रभावित हुनुभयो ? लेखनबाट सन्तुष्ट हुनुहुन्छ ?
मेरा विद्यार्थी, परिवार सबै प्रेरणाका स्रोत हुन् । पीएचडी गराउने गुरु प्रा.डा रामचन्द्र लम्साल पनि हुनुहुन्छ । पीएचडी गरेपछि तपाईंले केही लेख्नु पर्छ भन्ने गुरुको उत्पेरणा थियो । शिक्षा र प्रेरणा भनेको फालेको कागजमा पनि हुन्छ । फालेको कागजमा केही छ भनेर हेर्दा केही कुरा लिन सकिदो रहेछ । तर त्यो लिने मान्छेको कुरा मात्र फरक हुन्छ । दिने मान्छेले कसरी दिन्छ र लिने मान्छेले कसरी लिन्छ भन्ने कुरा हो । फालेको कागज उसले लेख्यो, अर्कोले पढ्यो फ्याल्दियो । तर मेरो लागि त्यो कागज उत्प्रेरणा बन्यो ।
जे मैले लेखेको छु त्यसमा म एकदमै सन्तुष्ट छु । ‘तनुजा’को अर्को संस्करणका लागी सबैले माग गरिरहनुभएको छ । धेरैले तनुजामा थेसिस लेखिरहनु भएको छ । तनुजा बजारमा आएको थियो सकिसक्यो । फेरि प्रकाशन गर्नु छ । यो किताबले अझै धेरै विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूको थेसिसको एउटा पत्र बन्छ भन्ने मलाई लागेको छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ? तपाईंले केही सहयोग पाउनुभयो ?
आफ्नो खुट्टामा आफैं उभिन पर्छ । कर्म गर्नु पर्छ । भगवान श्रीकृष्णको बोलीबाट प्रभावित भएको छु । जुन हामीले मिथकहरू पढ्न पाइन्छ नि । त्यस कारणले मलाई आशा कसैको छैन । यो दुनियाँमा कसैले गर्ला भन्ने छैन । राज्यले पनि साहित्यको क्षेत्रमा काम गर्नेलाई त्यति गरेको छैन । जति पनि फाउण्डेसनहरू छन् तिनीहरुले पुरस्कारको राशि राखेर त्यो मार्फत पुरस्कार पाएका छन् । त्यस कारणले राज्य नै लागेर पुरस्कार वितरण गरेको भनेको त्यो थोरै स्रष्टा, चिनिएका स्रष्टा र लाखौँमा एक /दुई प्रतिशत हुनुहुन्छ । त्यहाँ भित्र म भिजिसक्न सकेकी छैन । मलाई त्यस्तो सारै गर्दिएला भन्ने आशा काँही देख्दिन र म चाहान्न पनि ।
तपाईंको विचारमा अब कस्तो साहित्य लेखिनुपर्छ ?
अबको दिनमा भनेको समाज रूपान्तरण हो । समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ ? साहित्य त एउटा समाजको ऐना हो । साहित्य बाटनै मान्छेले आफ्नो मनका व्यथा-पीडाहरू समाजमा ल्याइदिन्छ र समाजले त्यसलाई ग्रहण गरेर परिवर्तन गर्छ । त्यो परिवर्तन गर्नलाई हिजोको पौराणिक कुरा, मिथक लेखेर समाज परिवर्तन हुँदैन । हिजो र आजको तुलना गर्न सक्नु पर्यो र आजको समाजको माग के छ ? आवश्यकता के छ ? बुझ्नुपर्छ । अध्ययन अनुसन्धान गर्नु पर्छ।