
सुर्खेत - हनी ट्रयापमा पारी आर्थिक लाभ लिने युवती पक्राउ परेकी छिन् । दैलेख नौमुले गाउँपालिका-८ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका -९ बस्ने २१ वर्षीय शिन्दु चन्दलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार चन्दले मनोज कोइरालाई विरेन्द्रनगर नगरपालिका - ६ बुद्दपथमा रहेको बुलबुले भ्यु होटलमा बोलाई एक आपसमा चिनजान तथा सहमतिमा सम्बन्ध राखेकोमा निज प्रतिबादी युवतीले हनी ट्रयापमा पारी आर्थिक लाभ लिने मनसायले जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र सामाजिक सन्जाल तथा मिडियमा नाङ्गो फोटो राखिदिन्छु भनी डर त्रास देखाई बेइमानीपुर्वक परिस्थिति खडा गरी विभिन्न मितिमा पटक पटक गरी जम्मा १४ लाख २५ हजार नगद पीडितसँग रकम असुली गरेकी थिइन् ।
कोइरालाले प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएपश्चात् खटिइएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा यस कार्यालयबाट थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।