Harsamaya
बिलबिजकबिनै मोबाइल बिक्री गर्ने दुई जनासहित ६३ थान मोबाइल बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

चितवन - चितवनमा बिलबिजकबिनै मोबाइल बिक्री वितरण भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरी ६३ थान मोबाइल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित दिपक मोबाइल पसलमा बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको थियो। प्रहरीले पसलबाट बिलबिजकबिनाका मोबाइल बरामद गरी सञ्चालक भरतपुर–१० का ४१ वर्षीय दिपक प्रसाईंलाई पक्राउ गरेको हो।

प्रहरीले पसलबाट विभिन्न सिरिजका एप्पल कम्पनीका ५० थान आइफोन, सामसुङका ८ थान मोबाइल, रेडमीका २ थान, एप्पलका १ थान आइप्याड र भिभोका २ थान मोबाइल बरामद गरेको जनाएको छ।

त्यस्तै, भरतपुर महानगरपालिका–९ रामनगरस्थित बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा पनि जाँच गरेको थियो। रामनगरबाट जुगेडी तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले तनहुँ व्यास नगरपालिका–२ का २८ वर्षीय अमानन्द भुजेललाई पक्राउ गरेको छ।

उनले बोकेको झोलाबाट बिलबिजकबिना ल्याइएका पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update