सिन्धुपाल्चोक - माओवादी द्वन्द्वका क्रममा २०५८ सालमा आफ्ना बाजे लालबहादुर गुरुङलाई माओवादीले हत्या गरेपछि परिवारसहित काठमाडौं विस्थापित भएका वसन्त गुरुङ अहिले नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय छन्।
बाजे गुमाएको पीडा र द्वन्द्वका कारण विस्थापित हुनुपरेको पारिवारिक पृष्ठभूमिबाट आएका गुरुङ शान्ति प्रक्रियापछि कांग्रेस राजनीतितर्फ आकर्षित भए। तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा शान्ति प्रक्रिया अघि बढेपछि शान्ति र स्थायित्वको अपेक्षासहित आफू कांग्रेसप्रति आकर्षित भएको गुरुङ बताउँछन्।
लालबहादुर गुरुङको हत्यापछि परिवार काठमाडौंको क्षेत्र नम्बर ४ अन्तर्गत कपनमा विस्थापित भएको थियो। द्वन्द्वपीडित परिवारका रूपमा सुरक्षित र शान्त वातावरणमा बस्न पाउने अपेक्षाका साथ काठमाडौं पुगेका वसन्त विस्तारै राजनीतिमा सक्रिय हुन थाले।
२०६८ सालमा नेपाल तरुण दल सिन्धुपाल्चोकको जिल्ला सदस्य बनेका गुरुङले तरुण दलमै रहेर क्षेत्र नम्बर २ अन्तर्गतका तत्कालीन गाविसहरूमा अधिवेशन गराउँदै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरे। त्यसक्रममा आफूले राजनीतिक चुनौतीसमेत सामना गर्नुपरेको उनी बताउँछन्। उनका अनुसार त्यतिबेला अन्य दलका कार्यकर्ताले आफू चढेको गाडीमा आक्रमण गरी सिसासमेत फुटाएका थिए।
कांग्रेसको १३औँ महाधिवेशनबाट गुरुङ हैबुङबाट कम उमेरमै क्षेत्रीय प्रतिनिधि बने। त्यसपछि सिन्धुपाल्चोक कांग्रेसको १३औँ जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा अत्यधिक मतसहित निर्वाचित भए।
पार्टी राजनीतिमा सक्रिय हुँदै आएका गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा मेलम्ची नगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित भए। जनप्रतिनिधिका रूपमा उनले २०७० सालमा क्षतविक्षत भएका घरहरूको पुनर्निर्माणदेखि स्थानीय भौतिक संरचना निर्माणसम्मका काममा अग्रपंक्तिमा रहेर काम गरेको बताउँछन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट उनी मेलम्ची नगरपालिकाको सभापतिसमेत बने। २०७९ सालको स्थानीय तह निर्वाचनमा मेलम्ची नगरपालिकाको प्रमुख पदका लागि उनको नाम टिकट सिफारिसका लागि अग्रपंक्तिमा थियो। तर, विभिन्न प्राविधिक कारणले उनले टिकट पाउन सकेनन्।
पार्टी संगठनमा निरन्तर सक्रिय रहेका गुरुङ अहिले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) को सभापति पदका उम्मेदवार बनेका छन्।
प्रदेशसभा (ख) अन्तर्गतका वडाहरूमा कांग्रेसको उपस्थिति अझ बलियो बनाउने आफ्नो लक्ष्य रहेको गुरुङ बताउँछन्। कमजोर संगठन भएका पालिकामा कांग्रेस विस्तार गर्ने, बलियो रहेका पालिकालाई थप सुदृढ बनाउने र सबै स्थानीय तहमा पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने उनको योजना छ।
“कमजोर रहेका ठाउँमा कांग्रेसको संगठन विस्तार गर्ने र बलियो रहेका पालिकालाई अझ बलियो बनाउँदै सबै स्थानीय तहमा कांग्रेसलाई हराभरा बनाउने मेरो उद्देश्य हो,” गुरुङले भने।
माओवादी द्वन्द्वमा बाजे गुमाएर परिवारसहित विस्थापित भएका गुरुङको राजनीतिक यात्रा भने शान्ति प्रक्रियापछि कांग्रेससँग जोडियो। तरुण दलको जिल्ला सदस्यदेखि क्षेत्रीय प्रतिनिधि, जिल्ला सदस्य, वडाध्यक्ष र मेलम्ची नगर सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका गुरुङ अहिले प्रदेशसभा (ख) को नेतृत्वका लागि प्रतिस्पर्धामा छन्।
विवादित बनेको सिन्धुपाल्चोक -२ को अधिवेशन भोलि ६ बजे बाट पुनः संचालन हुँदै छ।

