Harsamaya
कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि निर्वाचित
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र उनका छोरा सौगात थापा ।

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्की क्षेत्र नं. २ बाट बाबु–छोरा नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा खुलातर्फबाट र उनका छोरा सौगात थापा ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सौगातले आफूलाई प्राप्त परिणामलाई व्यक्तिगत उपलब्धिभन्दा पनि युवामाथि गरिएको विश्वासका रूपमा लिएका छन्। यो विश्वासले कांग्रेसलाई अझ गतिशील, सुदृढ र पुस्तान्तरणमुखी बनाउने जिम्मेवारी थपिएको उनले बताएका छन्।

विन्दुकुमार थापाले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिले दिएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन्। उनले आगामी दिनमा पनि कांग्रेस र लोकतान्त्रिक मूल्य–मान्यताप्रति निरन्तर समर्पित रहँदै प्रतिनिधिको विश्वासलाई सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।

अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई पार्टी संगठन सुदृढीकरणमा जोड्ने प्रतिबद्धतासमेत थापाले व्यक्त गरेका छन्।

विन्दुकुमार थापा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुदमन्त्रीसमेत हुन्। उनले गण्डकी प्रदेशसभा सदस्य रहेदेखि प्रदेश सरकारबाट प्राप्त पारिश्रमिक तथा अन्य सरकारी सेवा–सुविधाबापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको बताइएको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १८ गतेदेखि सुरु हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update