Harsamaya
‘सुरक्षा निकायबाटै सुरक्षित महसुस गरेनौँ’ : करुणासागर
करुणा सागर ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा निर्वाचनको वातावरण असहज बनेको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवार करुणासागरले सुरक्षा निकायबाट समेत आफूहरूले सुरक्षित महसुस गर्न नसकेको बताएका छन्।

निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै करुणासागरले अघिल्लो दिन उम्मेदवारहरूबीच भएको साझा समझदारी र सहमति पालना नभएको दाबी गरे। उनका अनुसार मतदानमा जान असहज हुने मतदातालाई अरू व्यक्तिले मतदान गराउने विषयमा कुनै सहमति नभएको भए पनि त्यस्तो गतिविधि भएको थियो ।

‘सुरक्षा निकायबाट पनि हामीले सुरक्षित महसुस गरेनौँ,’ करुणासागरले भने, ‘हामीले चुनाव जित्नु वा हार्नुभन्दा पनि निर्वाचनको वातावरण राम्रो भएन भन्ने विषयलाई गम्भीर रूपमा लिएका छौँ।’

उनले निर्वाचनका क्रममा सहमतिविपरीत गतिविधि भएको आरोप लगाउँदै त्यसको आफूहरूले घोर भर्त्सना गरेको बताए । निर्वाचनमा भएका घटनाबारे जिल्ला तथा पार्टी केन्द्रलाई जानकारी गराइसकेको पनि उनले बताए ।

मतदानको गोपनीयतामाथि समेत प्रश्न उठाउँदै करुणासागरले आफ्नो मतपत्रमै मतदान अधिकृतको हस्ताक्षर नभएको अवस्थामा मतदान प्रक्रियाको औचित्यमाथि प्रश्न उठ्ने बताए ।

‘मेरो मतमा नै मतदान अधिकृतले हस्ताक्षर भएन भने त्यो मतदानको के अर्थ ?’ उनले प्रश्न गरे, ‘आफ्नो मतको गोप्य मतदान हुन सकेन।’

करुणासागरले तीनै जना क्षेत्रीय सभापतिका उम्मेदवारको एजेण्डा मूलतः एउटै रहेको बताए। उनका अनुसार उम्मेदवारहरूको मुख्य उद्देश्य पार्टीभित्र वैचारिक विषयलाई स्थापित गर्नु थियो ।

निर्वाचनको वातावरण, सहमति कार्यान्वयन तथा मतदान प्रक्रियामा देखिएका विषयलाई लिएर विवाद बढेपछि क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको हो । घटनाबारे उम्मेदवारहरूले जिल्ला तथा पार्टी केन्द्रसमक्ष समेत जानकारी गराएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update