सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन विवादित बनेपछि निर्वाचन स्थगित भएको छ।
उम्मेदवार पासाङ दोङ तामाङ समूहले मतदानका क्रममा ५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएको दाबी गर्दै निर्वाचन बहिष्कार गरेपछि अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको हो।
निर्वाचन बहिष्कारपछि पत्रकार सम्मेलन गर्दै समूहका नेता वंशलाल तामाङले मतदान प्रक्रियामा गम्भीर त्रुटि र अवाञ्छित गतिविधि भएको दाबी गरे।
तामाङका अनुसार मतदानका क्रममा करिब ११ बजेतिर मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषयमा गुनासो आएपछि आफूहरूले निर्वाचन पक्षलाई जानकारी गराएका बताए । पहिलोपटक समस्या देखिएपछि दोस्रो र तेस्रो पटकसम्म पनि आफूहरूले परिस्थितिलाई स्वीकार गर्दै मतदान प्रक्रियालाई निरन्तरता दिएको उनले बताए।
तर पछि ५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको र उक्त विषय निर्वाचन अधिकृतले समेत स्वीकार गरेको तामाङको दाबी छ ।
‘५० भन्दा बढी मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाएपछि हामीले निर्वाचन बहिष्कार गरेका हौँ,’ तामाङले भने, ‘यस्तो धाँधलीरहित निर्वाचन हुन सक्दैन । अब पुनः निर्वाचन हुनुपर्छ।’
उनले मतदानका लागि आवश्यक गोपनीय र सुरक्षित वातावरणसमेत नरहेको आरोप लगाए। कतिपय मतदाताले मतदानस्थलमा झन्झट बेहोर्नुपरेको र उम्मेदवारले आफैँ मतदाता लगेर मतदान गराएको समेत आफूहरूले देखेको उनको दाबी छ ।
‘निर्वाचन गोप्य तरिकाले गर्ने वातावरण थिएन। त्यसका बाबजुद पनि हामीले मतदानमा भाग लियौँ,’ तामाङले भने।
तामाङले मतपत्रलाई अलपत्र पारिएको घटनाको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्ने बताए। साथै निर्वाचनमा देखिएका समस्याको जिम्मेवारी निर्वाचन आयोग र आयोजक पक्षले लिनुपर्ने उनको भनाइ छ।
उनले अब आन्तरिक रूपमा छलफल गर्ने र पार्टी केन्द्रको निर्णयसमेत पर्खने बताए। क्षेत्रीय समिति भंग भएको अवस्थामा केन्द्रको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ ।
पासाङ दोङ तामाङ समूहले मतदान प्रक्रियामा देखिएका त्रुटिको छानबिन गरी पुनः निष्पक्ष निर्वाचन गरिनुपर्ने माग राखेको छ ।

