Harsamaya
देउवा पक्षीय कांग्रेसले मेलम्चीमा खोल्यो क्षेत्रीय सम्पर्क कार्यालय
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मेलम्चीमा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरेको छ ।

मेलम्ची - नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मेलम्चीमा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरेको छ।

मेलम्ची बजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन कांग्रेस नेता विकास तामाङले गरेका हुन्। आगामी वडा अधिवेशनको तयारी तथा पार्टीका गतिविधिलाई समन्वय गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको जनाइएको छ।

कार्यालय उद्घाटनका क्रममा नेता तामाङले कोइराला–देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशन नै वैधानिक भएको दाबी गरे। उनले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्व नै कांग्रेसको आधिकारिक नेतृत्व भएको जिकिरसमेत गरे।

तामाङले सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेत देउवा पक्षको साथमा रहेको उल्लेख गर्दै आफ्नो पक्ष जिल्लामा बलियो रहेको दाबी गरे। उनले कांग्रेसका युवा तथा लामो समयदेखि पार्टीमा योगदान दिँदै आएका नेता–कार्यकर्तालाई देउवा–कोइराला पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।

‘युवा साथीहरू, कांग्रेसमा लामो समय सेवा गर्नुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू देउवा–कोइराला नेतृत्वको १५औँ महाधिवेशनमा एकताबद्ध भएर लागौँ। वडा अधिवेशनबाटै सक्रिय सहभागिता जनाऔँ,’ तामाङले भने।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष तेज बानियाँ, कांग्रेस जिल्ला सचिव निराजन चौलागाईं, क्षेत्र नम्बर २ प्रदेशसभा ‘ख’ का संयोजक रामशरण गिरी, मेलम्ची नगरपालिकाका संयोजक परमात्मा नेपाल, क्षेत्र नम्बर २ का संयोजक प्रकाश बस्नेत, इन्द्रावती गाउँपालिकाका संयोजक कृष्ण दोङ तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका संयोजक रामकृष्ण ढुंगानालगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update