काठमाडौं - लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ११६ ग्राम ५०० मिलिग्राम हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको छुट्टाछुट्टै अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार असोज १८ गते ९५ ग्राम ५०० मिलिग्राम हेरोइनसहित दोलखाको मेलुङ गाउँपालिका–१ का ३३ वर्षीय सुरेश उप्रेती र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ का २६ वर्षीय अमित बस्नेत पक्राउ परेका थिए।
यस्तै, असोज १९ गते २१ ग्राम हेरोइनसहित सिरहाको गोलबजार नगरपालिका–१० का २५ वर्षीय अजयकुमार महतो र ३२ वर्षीय सघुन मुखिया पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट हेरोइनसँगै लागुऔषध तौल गर्ने डिजिटल तराजु एक थान र मोबाइल चार थानसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये सुरेश उप्रेती यसअघि पनि भक्तपुर र काठमाडौँमा लागुऔषध मुद्दामा पक्राउ परेको तथा सघुन मुखिया सिरहाबाट लागुऔषध मुद्दामा पक्राउ परेको अभिलेखबाट खुलेको ब्युरोले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

