Harsamaya
दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सुनसरी - इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खालबाट एक बुङ तास र नगद रु दुई लाख ३१ हजार १७० बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । 

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही ठाउँका ४७ वर्षीय गौरीशङ्कर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन् ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update