Harsamaya

सन्दिप श्रेष्ठ सानोमा ‘टाइटानिक’ फिल्म हेर्थे । उनलाई फिल्मको संसार कसरी बनायो भन्ने खुलदुली लाग्थ्यो । त्यति बेला स्टार मुभीहरू आउन थालेका थिए । जसमा ‘मेकिङको पार्ट’हरू हेर्न पाइन्थ्यो । उनलाई त्यो ‘पार्ट’ हेर्न एकदम मन लाग्थ्यो ।

बच्चाबाटै कलाकार बन्छु भन्ने सन्दिपलाई थियो । तर, कसरी ? बाटो पहिल्याउन सकेका थिएनन् । बलिउड फिल्महरूमा नाच्ने, गाउने गर्दा सबैले उनको तारिफ गर्थे । उनी आफैलाई नि राम्रो नाच्छु भन्ने लाग्थ्यो । तर, तालिमहरू लिएर त्यसलाई थप निखार्न पाएनन् । नेपाली समाज हो नि  पढ, जागिर खा, बिहे गर, बच्चाबच्ची पाउ त्यही नै जिन्दगी हो सिकाउँथ्यो । उनी पढाइमा पनि अब्बल थिए ।  पढ्दै जाँदा उनलाई  एउटा कलाकार भएर आफूलाई ‘एक्सप्लोर’ गर्छु भन्ने लाग्यो । उनी पुतलीसडक र गुरुकुल धाउन थाले । नाटक कसरी सिक्ने बाटोहरू भेटेका थिएनन् । १७/१८ वर्षको वैशालु उमेरमा कलाकार बन्छु भन्ने हिम्मत पनि थिएन । उनलाई ‘म  कलाकार बन्छु’ भन्न नै समय लाग्यो ।

उनी बच्चाको एउटा किस्सा सम्झन्छन् । एक जना मिसले उनलाई नाँच्न बोलाउनुहुन्थ्यो । उनी जान्थे । तर, बुवाले उनलाई कुट्दै बाहिर निकाल्नुहुन्थ्यो। ‘तँलाई केटी जस्तो बन्न यहाँ आउनु पर्छ’ भन्दै कराउनुहुन्थ्यो। जीवन यात्राका कति कुरा उनलाई सम्झन पनि मन छैन । जसले खाटा बसेका घाउहरूले थप पीडा दिन्छन्। अभिनय यात्राका क्रममा उनका तीता अनुभवहरू पनि छन् । करियरको सुरुवाती दिनमा साना फिल्महरूमा सानो रोल गरे । गर्दागर्दै उनी मण्डलासँग जोडिए । त्यसपछि लगातार उनी  थिएटरमै रमाए । कलाकार बन्दै गर्दा उनलाई कथा लेख्‍न र कथा बनाउन एकदमै रुचि थियो । उनले धेरै कथाहरू लेखे, बनाए ।  अहिले उनी नाटक निर्देशन गर्छन् ।

सन् २०१७ मा उनले ‘चिसो भन्ज्याङ’ भन्ने नाटक बनाए । जसलाई  दर्शकले अति माया गरे । त्यसपछि उनले अर्को नाटक बनाए । जसमा धेरै गाली खाए । तर उनको लागि भने एकदमै प्यारो थियो । लकडाउनले गर्दा सबै झैँ उनको काम पनि ठप्प भयो। थिएटरहरू सबै सेलाए। समयक्रमसँगै सबै पहिलेकै अवस्थामा पर्किए। उनलाई पनि काम गर्नुपर्छ, केही बनाउनु पर्छ भन्ने लाग्यो। अनि उनले बनाए  ‘चन्द्र लाई कसले मार्यो ?’नाटक। जुन प्रदर्शनको अन्तिम चरणमा छ। उनको आफ्नै कथा र निर्देशनमा तयार भएको यो नाटक र जीवनमा यहाँसम्म आउन श्रेष्ठले गरेको संघर्षबारे हर समयले गरेको कुराकानी ।

Sandeep-Shrestha--(1)-1751687879.jpg

‘चन्द्र लाई कसले मार्यो ?’ कस्तो नाटक हो ? यसले के देखाउन खोजेको छ ?
‘चन्द्रलाई कसले मार्यो’ नाटक ‘थ्रिलर’ होइन, यो प्रश्न हो । एउटा मान्छेले आफूलाई खोज्दा खेरी, हराउँदा खेरी, कुन भुमरीमा पाउँछ। त्यो भुमरीबाट उसको निस्किन सक्ने क्षमता हुन्छ कि हुँदैन ? भन्ने नै हो । ‘डिप्रेसन’ देखि ‘सेल्फ हाम’ गर्दा मान्छेलाई के महसुस हुन्छ त्यो ‘एक्सप्लोर’ गर्न खोजेको छ । फरक-फरक परिस्थितिहरूलाई अन्वेषण गर्न खोजेको छ । जीवनमा सम्बन्धहरू कसरी परिवर्तन भएर आउँछन् ? उसले के देखिरहेको छ ? सबै जनाको आ-आफ्नै दृष्टिकोण हुन्छ । चन्द्रले अरूलाई कसरी देखिरहेको छ र अरूले चन्द्रलाई कसरी देख्छ होला ? त्यो कुरा यो नाटकमा देखाउन खोजेको छु । एकदमै मीठो नाटक बनेको छ । केही बेर हाँस्ने, केही बेर रुने, केही बेर रमाइलो हुने । नाटक सकेर निस्किँदा एउटा जीवन बाँचेर आए है भन्ने दर्शकलाई महसुस हुन्छ ।

तपाईंको मुख्य पात्र चन्द्रले अहिलेको समाजको कुन कथा-वस्तु बोकेको छ ?
मैले कथा भन्ने तरिका नै परिवर्तन गरेको छु। एउटा सजिलो कथावाचन छैन । अन्तर्राष्ट्रिय रूपमा काम गर्दै जाँदा, पश्चिमामा कथा सुरु हुन्छ, एउटा हाइटमा पुग्छ, अर्को हाइटमा पुग्छ, त्यसपछि ‘डाउन’  हुन्छ, त्यसपछि अन्त्य आउने निश्चय हुन्छ । हाम्रो पूर्वीय सभ्यतामा चाहिँ दार्शनिक प्रवृत्तिअनुसार कुनै कुरा सुरु हुन्छ भने त्यो कुराको अन्त्य पनि हुन्छ र अन्त्य भएको कुरा पुनः सुरु हुन्छ । मैले यो नाटकमा त्यो चीज प्रयोग गर्ने कोसिस गरेको छु ।

म एउटा क्वियर समुदायको भएको हिसाबले समाजमा ‘क्वियर’  समुदायलाई गराइने प्रतिनिधित्वबारे मलाई कहिल्यै चित्त बुझ्दैन । नाटक वा फिल्म हेरेर मुख लुकाएर निस्किएको छु मलाई कसैले नसोधिदेओस् , कसैलाई गाली गर्न नपरोस् भनेर। कति कुराहरू सतही हुन्छ। ‘एलजीबीटीकिउआइ’  (LGBTQI++) को अर्थ पनि थाहा हुँदैन तर फिल्म बनाइरहेको हुन्छ। जुन मैले भोगेको छु। मेरो वरिपरि देखेको छु। त्यो कुरा यो नाटकमा छ । LGBTQI++ समुदायको कुरालाई यो नाटकमा समेट्न खोजिएको छ । नाटकमा धेरै कुरा समेट्न सकिँदैन ।  तर, एउटा विशिष्ट कुरालाई समेट्न खोजेको छ । ‘क्वियर कम्युनिटि’ को अधिकतम मान्छे ‘डिप्रेसन’ मा हुन्छन् । उनीहरू कयौं वर्षसम्म एक्लै जुधिरहेका हुन्छन् । कोहीसँग खुल्न सकेको हुँदैन । बोल्न सकेको हुँदैन । तरिका थाहा हुँदैन । उसको आफूभित्रको लडाई यो नाटकमा देखाउन खोजेको छु ।

यो नाटकमा कुनै विशेष घटना वा सन्दर्भ जोड्न खोज्नु भएको छ ?
‘सुसाइड अटेम्ट’को विषय छ नाटकमा । ‘सुसाइड’ किन भयो होला ? कसरी भयो होला ? त्यो मान्छे को दिमागमा के चलिरहेको थियो ? त्यसको वरिपरिको मान्छेले कसरी ‘कन्ट्रिब्युट’ गर्यो होला वा गरेन होला ? के साँच्चिकै ‘कन्ट्रिब्युट’ गर्यो होला त ? छेउछाउको मान्छे साँच्चिकै नबुझ्ने थियो ? कहिलेकाहीँ सहयोग माग्न पनि सिक्नु पर्छ । मैले सकिन भन्न सक्नुपर्छ । अनि बल्ल अर्को मान्छेले थाहा पाउँछ यसलाई मैले सहयोग गर्नुपर्छ, सहयोग मागिरहेको छ भन्ने । हामी सहयोग नै माग्दैनौ  । नमागेपछि थाहै हुँदैन ।  एकैचोटि ‘डार्क स्टेप’मा पुगेर थाहा पाएपछि बचाउन पनि गाह्रो पर्छ । 

यो कथा कसैको अनुवाद हो कि आफैँ लेख्नुभयो ?
होइन, यो पूर्ण रूपमा मौलिक सिर्जना हो। जीवनको अनुभव, सम्झनाहरू, अनि धेरै मान्छेहरूको अनुभव र कयौँ घटनाहरूलाई जोडेर एउटा खाका दिएको छु ।

नाटकमा कस्ता कस्ता कलाकारहरूको सहभागिता छ ? उनीहरूसँग काम गर्दा कस्ता चुनौतीको सामना गर्नुपर्यो ?
नाटकमा एउटा व्यक्तिले धेरै भूमिका निर्वाह गरिरहेका छन् । एउटै नाम भएका पात्रहरू भए पनि तिनिहरूको चरित्र र स्वभाव फरक–फरक छ । जसका कारण कलाकारहरू धेरै ‘कन्फ्युज’ हुनु भएको थियो । बुझाउँदा बुझाउँदै थाकिदोरहेछ । जस्तो, नाटकमा एउटा पात्रको भूमिका निर्वाह गर्छ र त्यो पात्रले एउटा ‘ब्याक स्टोरी’ पाउँछ त्यही गर्न गाह्रो हुन्छ ।  यहाँ सबै ‘मल्टिपल डिफ्रन्ट क्यारेक्टर’ पाउनुहुन्छ । कति फरक गर्ने ? कति सिमिलर गर्ने ? कति नगर्ने ? यसमा धेरै काम गर्नुपर्यो ।  धेरै मेहनत गर्नु पर्यो ।

कलाकारहरूसँग काम गर्न सजिलो छ । कलाकारहरूले बुझ्छन् पनि । कहिलेकाहीँ नबुझ्ने भन्दा पनि बुझ्नलाई कोसिस गर्दा निकै सजिलो हुन्छ । यो नाटक मा आठ जना पात्र छन् । सबैको उति नै महत्व छ । कलाकारहरूमा मेरा समकालीन साथीहरू हुनुहुन्छ ।  १०-१५ वर्ष देखि थिएटर गरिरहेका साथीहरू हुनु हुन्छ । धेरै सिनियर आर्टिस्टमा एक जना सिता देवी तिमल्सिना हुनुहुन्छ । उहाँले ‘सानो संसार’ भन्ने फिल्म गर्नु भएको थियो । यो नाटकमा चाहिँ उहाँले आमाको भूमिका निर्वाह गर्नु भएको छ । फिल्म गरेका केही कलाकारहरू पनि छन्  । १-२ जना विद्यार्थीहरू छन् । तर, उहाँहरू प्रोफेसनल्ली थिएटर गरिरहनु भएको छ ।

सिनेमामा काम गरेको कलाकारलाई नाटकमा अभिनय गराउन सजिलो कि गाह्रो ?
केही गाह्रो भएन । कलाकारमा चाहिने सबै भन्दा मुख्य कुरा अनुशासन हो । जुन सबैमा छ। सिता म्याम कै कुरा गर्दा कति मीठो छ उहाँको उपस्थिति। उमेरमा म भन्दा धेरै ठूलो भए पनि बहिनी भन्न मिल्ने छ स्वभाव ।  हामीसँग एक जना साथी हुनुहुन्छ उहाँले थियटर गर्नु भएको छैन । उहाँ क्वियर समुदायको सेलिब्रेटि टाइप्सको हुनुहुन्छ । पेशाले कोरियोग्राफर हो । उहाँको काम हेर्दा कहिल्यै थिएटर गरेको छैन जस्तो लाग्दैन। यो भूमिका उहाँलाई एकदमै सुहाउँछ होला जस्तो लागेर राखेको ।  केही ल्याउन सक्नुहुन्छ जस्तो लाग्यो । उहाँले मिठो काम गर्नु हुन्छ ।

कलाकारमा हुनुपर्ने मख्य चीज अनुशासन, गर्ने चाहना र मेहनत नै हो । मैले १५ वर्ष जति काम गरे पनि अनुशासन छैन, मेहनत गरिन भने काम झुर हुन्छ । मेहनत गर्नैपर्छ । सबैजना एकदम मेहनती हुनुहुन्छ ।

कति समयको नाटक हो ?
अहिले टिक-टकको जमाना हो । मिडिया एकदमै ‘फास्टेड वर्ल्ड’ भएर टक-टक सबै कुरा चाहियो  । आफ्नो एउटा ‘रिदम’ हुन्छ सबै कुराको । मेरो नाटक को ‘रिदम’ १ घण्टा ४० मिनेट जतिको छ ।

सिनेमाको कलाकार ल्याएर निर्देशकहरूले व्यापक मार्केटिङ गरेका छन् भन्छन् । तपाईं के भन्नुहुन्छ ?
म नराम्रो लिदिन। कसैले पैसा लगानी गरेको छ । आफ्नो कथा भनिरहेको छ भने दर्शकसम्म पुग्नुपर्यो । नत्र घरमा बसेर २-४ जनालाई सुनाए भैगो । स्रोत साधनहरू कम छ । कम स्रोत साधनमा नाटक बनिरहेको छ । त्यसमा मार्केटिङ कसरी गर्ने ?

सिनेमा होस् वा नाटक आफ्नै आर्टिस्ट हो । फिल्मको आर्टिस्टले थिएटर गर्न नपाउने भन्ने हुँदैन । फिल्मको आर्टिस्ट आउँदा थिएटरलाई फाइदा हुन्छ भने किन नगर्ने ? हामीले सकेसम्म राम्रै आर्टिस्ट लिन खोज्छौं । एउटा राम्रो आर्टिस्ट भएपछि उसको फ्यान फलोइङ हुन्छ । सिनेमा र अरू भन्दा पनि कलाकारलाई लिएको हो । उसले जहाँ पनि काम गर्न पाउँछ ।

मार्केटिङ कतिको तगडा छ ? यो नाटक दर्शकले किन हेर्ने ?
जिन्दगी भर काम के सिकेँ भने कला कसरी निर्वाह गर्ने । मार्केटिङ मैले सिकिन । केही तरिका जुन पहिला प्रयोग भएका, जानेका, सकेको गर्ने कोसिस गर्दैछौं । टीजरहरू बनाइ राखेका छौं । पोस्टरहरू बनाउँछौ । तर, फिल्मको जस्तो गर्न सक्दैनौं । नाटक जहिले पनि कलाले नै बोलोस् भन्ने हुन्छ । खासमा सानो नै ठाउँ हुन्छ ५०-६० सिट छन् त्यति भर्न राम्रो नाटकलाई खासै गाह्रो हुन्न जस्तो लाग्छ । तपाईंले कस्तो राम्रो नाटक भन्ने बित्तिकै मान्छेलाई हेर्न रुचि हुन्छ । कहिलेकाँही जति प्रचारप्रसार गरे पनि त्यो समयको लागि त्यो नाटक नहुन सक्छ ।  के साँच्चिकै हामीले राम्रो नाटक बनाउन नसकेको हो कि ? हामीले त्यतिकै राम्रो नाटक भनेर आफूलाई धाप हानी राखेको हो कि ? यो बुझ्न जरुरी छ । कुनै पनि कला वा कुराको आफ्नै एउटा जीवन हुन्छ । अहिलेसम्म हामीले भोगेको, चिनेको जानेको मार्केटिङ भनेको दर्शक नै हो । जति नै मार्केटिङ गरे पनि दर्शकले मन पराए मज्जाले चल्छ नत्र नचल्न पनि सक्छ ।

एउटा राम्रो थिएटर निर्देशक बन्न चाहने कलाकारहरूले कुन गुण अथवा शैली विकास गर्नुपर्छ ?
अनुशासन । कुनै कुराको लागि अनुशासन चाहिन्छ । अनि धैर्य, सुन्ने बानी। हामी सुन्दैनौ । सुनेपनि प्रोसेस गरेर राख्दैनौं । एउटा कानले सुन्छौं अर्को कानले उदाइदिन्छौं । जति धेरै सुनियो जति धेरै लिन सकियो त्यति नै धेरै दिन सकिन्छ । अवलोकन क्षमता उच्च हुनुपर्छ ।  कुनै चीजलाई गहन रूपमा हेर्न सिक्नु पर्छ । निर्देशक बन्ने चाहना हुनेले लेख्न, पढ्न, बुझ्न , बुझाउन सिक्नुपर्छ । सबै कुरामा राम्रो नभए पनि आधारभूत ज्ञान हुनुपर्छ । नाटकहरू हेर्नु पर्छ । नाटक हेर्दै गर्दा कसैले राम्रो, नराम्रो नाटक बनायो भन्दा पनि म भएको भए यसरी हेर्थे, यसरी बनाउथे  भन्ने सोच विकास गर्नुपर्छ । काम गरेपछि मात्रै कति कमजोर वा बलियो रहेछु थाहा हुन्छ । सिक्दै जाने हो । थिएटरमा केही समय बिताउनु पर्छ । धेरै प्लेहरूमा सहायक बनेर, स्वयंसेवक बनेर, अथवा कसरी हुन्छ संलग्न हुनुपर्छ ।

नाटकमा पैसा छैन भन्ने भाष्य निर्माण भएको छ , तपाई के भन्नुहुन्छ ?
कुनै पनि कामले पैसा दिने होइन । काम राम्रो गर्ने हो भने पैसाले पछ्याउँछ । हामीले खाना खाने भनेको बाँच्नको लागि हो । तर, कहिलेकाहीँ खाना खानकै लागि काम गर्छौ । पैसाकै लागि काम गर्छौ । २ वर्ष प्ले ग्रुप, ३ वर्ष प्राइमेरी, १० वर्ष स्कूल त्यसपछि स्नातक सकेपश्चात् पहिलो जागिरमा १०-१५ हजार अथवा २० हजार पाइएला । सामान्यतः गरेर खानु पर्ने, मध्यम वर्गीय परिवारको मान्छेहरूलाई १५-२० हजारको जागिर खान त्यत्रो समय र मेहनत लाग्छ । भर्खरै सिकेका छौं । काम गर्दैछौं । छिट्टै पैसा खोजेर हुन्न ।

पैसा नकमाउनुको एउटा कारण हामी व्यावसायिक भइसकेका छैनौं । आफ्नो काममा पोख्त हुँदै गएपछि बिस्तारै हुन्छ । थिएटरबाट पैसा हुँदैन होला तर थिएटरले तपाईंलाई के-के दिन्छ ? जीवन कौशलहरू दिन्छ । तपाइँ अभिनय र शिक्षण गर्न सक्नुहुन्छ । स्कूलहरूमा पढाउन सक्नुहुन्छ । प्रोजेक्टहरूमा सामेल हुन सक्नुहुन्छ । यत्रो वर्ष दाई दिदीहरूले काम गर्नुभएको छ । यतिकै काम गरेर आउनु भएको होइन । तपाईं आफ्नो काममा पोख्त हुनुस् । निरन्तरता दिनुस् । आज पैसा कमाइएन छोड्दिउ भोलि अन्तै जाउँ भन्नुभयो भने कुनै पनि प्रोफेसनमा रामो हुँदैन ।

दर्शकहरू प्राय पहिलो भन्दा पछिल्लो हप्ता नाटक हेर्न रुचाउँछन् ।  के पहिलो र अन्त्य तिरको नाटकमा केही फरक हुन्छ ?
फरक अलिकति हुन्छ । ऊ अलि बढी फाइन भइसकेको हुन्छ । मलाई चाहिँ पहिलो शो हेर्न मन पर्छ । पहिलो दिनको पहिलो शो को मज्जा, त्यो आर्टिस्टको नसामा भएको मज्जा, दर्शकले नयाँ नाटक हेर्नुको मज्जा अर्कै हो । नभ्याएपछि पछाडी जाने हो नत्र सकेसम्म सुरुमै हेरेको मज्जा बेग्लै हुन्छ । शिशुलाई अँगाल्दा जति मज्जा आउँछ सायदै एउटा वृद्धलाई अँगाल्दा आउँछ होला ।

Sandeep-Shrestha-1-1751688296.jpg

२०८२/८३ को सिजनमा बढेको मूल्यले तपाईंको नाटकमा केही असर पार्ला ?
डर लागिरहेको छ । अहिलेको नाटकहरूलाई पनि असर गरेको छ । लिमिटेड ठाउँमा लाखौँ खर्च गरेर नाटक बनाइरहेका छौं । तर पनि नाटकमा पैसा छैन भन्छौं । पे नै गर्न पुगिरहेको हुँदैन । त्यो भन्दैमा दर्शकलाई पेल्ने पनि होइन ।

मलाई चाहिँ नाट्य माध्यम संसारकै सबै भन्दा महँगो माध्यम जस्तो लाग्छ। चाहे सानै ठाउँमा गरोस् वा एक जना मात्र उभियोस् । त्यहाँ समर्पित आर्टिस्ट छ हेर्नका लागि। यो प्रिन्ट गरेको होइन । सम्पादन गरी हटाइएको पनि होइन । कुनै छाप अथवा तस्वीर होइन। आर्टिस्ट रोइरहेको छ । कराइरहेको छ । हाँसी रहेको छ । एउटा जिन्दगी बाचिरहेको छ । त्यो हेर्न पाइयो भने अद्भुत अनुभव हुन्छ । हरेक नाटकमा हुन्छ म भन्दिन । जुन बेला त्यो देखिन्छ त्यो अमूल्य हो। कयौं दर्शकलाई सोध्नु नाटक राम्रो भएको बेला एक हजार रुपैयाँ केही हुन्न । 

अमेरिका, लन्डनमा नाटक हेर्दा २०-३० डलर बाट सुरु हुन्छ । सानो  थिएटरमा ५०-६० डलर लिन्छ । ब्रडवे थिएटर (Broadway Theatre) को त ६/७ सय डलर हुन्छ । सोच्नु न कहाँ पुग्यो मूल्य । एउटा गायककै कन्सर्टमा टिकटको मूल्य १० हजार, २० हजार, ३० हजार हुन्छ । तपाईंको लागि भनेर रंगमंचमा कयौं वर्षे देखि काम गरेको मान्छेहरू त्यसरी खटिरहेको हुन्छ । त्यसरी ५००/१००० रुपैयाँमा मोल टोल नगरिदिनु होला । जबसम्म म सँग पैसा हुन्छ म नाटक हेर्न जाँदा टिकट काटेर गएको हुन्छु । त्यो किन भने उनीहरूको कलाको सम्मान हो । मेहनतको सम्मान हो ।

नेपालमा थिएटरको संस्कृति छैन। कुनै एउटा समर्पित आर्ट फर्म पनि छैन । त्यसैले विकास कसरी गर्ने भने यसरी नै हो । मण्डलाले एक किसिमले ‘रिस्क’ लिइरहेको छ । सरकारले आएर दिँदैन यहाँ । चलाउन परिरहेको छ । यत्रो भवन छ । २ वटा थिएटर छ । बत्तीको पैसा,अन्य विविध खर्च हुन्छ । त्यो त सरकारले हेर्दैन । अन्तर्राष्ट्रिय रूपमा प्राइभेट थिएटरहरूमा सरकारले ‘फन्डिङ’ गर्दिरहेको हुन्छ । नेपाल मा त्यो छैन । त्यही टिकटबाट चल्ने हो  । त्यति पैसा लिँदा पनि ३ महिना ४ महिना एउटा नाटकमा काम गर्दा हामीलाई पर्याप्त तलब आउँदैन । सोच्नुस् त्यो पर्याप्त हो की होइन ?

सरकारले रंगमंच र रंगकर्मी बचाउन के गर्दियोस् जस्तो लाग्छ ?
नाचघर छ । नाट्य संस्था छ । तर के गरिरहेको छ थाहा छैन । यत्रो वर्ष देखि काम गरिरहेका छौं ।  हामी कहिले सामेल भएका छैनौं । सायद हाम्रो पनि कमजोरी हुन् सक्छ । सहयोग माग्न जाँदैनौ । हामीले कला गरी राख्दा देशलाई पनि फाइदा भइरहेको छ । संस्कृति विकास भइरहेको छ । देशको कला संस्कृति बढिरहेको छ । नेपाल किन अमेरिका जाँदा, बेलायत जाँदा अथवा अष्ट्रेलिया जाँदा कसैलाई थाहा हुँदैन । सांस्कृतिक रूपमा महत्वपूर्ण नै छैन नेपाल । देशले पनि गरेको छैन । थिएटरमा मात्र होइन खेलकुदमा,  फिल्ममा , टेलिभिजनमा  । पहिला पहिला गर्थे अहिले त्यति पनि छैन । उम्दा कामहरू बन्ने शिलशिला नै छैन । त्यो चाहिँ सरकारले खुला आव्हानहरु आर्ट, खेलकुदको लागि गर्नुपर्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
यो नाटक कसले हेर्नु पर्छ भन्दा  LGBTQI++ समुदायको मान्छेहरूले । त्यहाँ ती समुदायका मानिसहरूले आफ्नो भोगाई र आफ्नो कुराहरू पाउँछन् । आफूभित्र कुण्ठा बनेर बसेको चीजहरूको रिलिज गर्न पाउँछन् । सामान्य मानिसहरू, थिएटरका दर्शकहरू, विद्यार्थीहरू ,प्रोफेसरहरू, राजनेताहरूले हेर्दिउन् जस्तो लाग्छ । संसार भरि आत्महत्याको दर बढ्दो छ । लगभग प्रत्येक ४ सेकेन्डमा एक जना मान्छेले आत्महत्या गरिरहेको हुन्छ। ३ वटामा एउटा आत्महत्या डिप्रेसनको कारण,  जेन्डर माइनोरिटीका कारणले भइरहेको छ । कति ठूलो अनुपातमा नदेखिएको नसुनिएको घटना रहेछ त ? तपाईंले आँखा चिम्लिनुभयो भन्दैमा त्यो छैन भन्न मिलेन ।

हाम्रो देशमा जात, धर्म, लिंगका आधारमा सशक्तीकरणमा काम भइरहेको छ । मान्छेहरू देखिएन यिनीहरूको लागि काम नै नगर्ने त ? एक त  खुल्ने वातावरण हुनु पर्यो ती मान्छेहरूलाई ।  यदि तपाईं साँच्चिकै समुदायमा गएर हेर्नुभयो भने धेरै समस्याहरू छन् । आफ्नालागि आफैं लड्न सक्नु पर्छ भन्छन् होला। तर सबै सत्यानास पारेर मान्छे कोही अगाडि आउन चाहँदैन । यो इस्युमा एकदमै कम काम हुन्छ। काम भए पनि के भइरहेको हो ? अझै बढी गहिराइमा गैदे हुन्थ्यो जस्तो लाग्छ । त्यो भएर यो नाटकमा केही गहिराइ पाउनु हुन्छ । केही नयाँ कुरा, कुनै नदेखेको कुरा, नजानेको कुरा, थाहा नपाएको कुराहरू देख्नु हुन्छ । नाटक कस्तो बन्छ ? तपाईंलाई कस्तो लाग्छ ? त्यो हेर्दा थाहा हुन्छ । तर धेरै कुरा तपाईंले यो नाटकबाट पाउनु हुन्छ ।

मैले सूचना दिन बनाएको नाटक त होइन। एउटा कथा भन्दै छु । त्यो कारणले रमाइलो हुन्छ ।  इन्गेज पनि हुन्छ । धेरै सानो बच्चाबचीले नहेर्दिनु । अलिकति बीभत्स तस्विरहरू हुन्छ । आत्महत्या प्रयासका दृश्यहरू हुन्छन् । चिच्याउने, कराउने हुन्छ। तर यसो बुझ्न सक्ने उमेर भएका ८ कक्षा माथिका वा १६ वर्ष माथिकाहरू अभिभावकसहित आउँदा हुन्छ । स्कुल पढ्ने केटाकेटीहरूमा यो कुरा धेरै हुन्छ  । त्यसैले यो विधार्थीहरूले हेर्न जरुरी छ ।

नाटक असार २५ गतेदेखि साउन १८ गतेसम्म देखाइनेछ । हरेक साँझ ५:३० बजे, शनिबार १:१५ बजे दिउँसो र साँझ ५:३० बजे (सोमबार बाहेक) चल्ने छ । तपाईंहरुले नाटक हेर्न आउनु भयो भने धेरै कुरा पाउनु हुन्छ । कहिले नदेखेको, नसुनेको कथा , केही नयाँ कुरा हेर्न मन छ विशेष गरी त्यो समुदायको लागि मात्र होइन सबैको लागि हो । एउटा आकर्षक कथावाचन, नयाँ किसिमको नाटक हेर्न मन छ भने र सँगसँगै रमाइलो गर्न मन छ भने आउनु होला । मेरो नाटकमा गानाहरू टन्नै छ । त्यही भएर आउनु होला । मेरो मनबाट तपाईंहरु सबैलाई निम्तो छ मण्डला थिएटरमा । तपाईंहरु आइदिनु भयो भने हाम्रो काम सार्थक हुन्छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update