-1760804556.jpg)
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । अरु के के भए ? मुख्य समाचारहरू
शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
जेनजी आन्दोलनका आपराधिक गतिविधिमा संलग्न ४ पुर्पक्षका लागि थुनामा
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न किसिमका अपद्रव तथा आपराधिक गतिविधिमा संलग्नमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । १२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्यामा संलग्न युवराज क्याप्छाकी र बुद्धिमान थिङ (सेनाम तामाङ) लाई जिल्ला अदालत, काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरू सुनधारास्थित केन्द्रीय कारागार, जगन्नाथ देवल चलान भएका छन् ।
काभ्रेको रोशी गाउँपालिका– ९ राज बास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का क्याप्छाकी र मकवानपुरस्थित थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने थिङले २४ गते महारागञ्जमा दुई प्रहरीको हत्यामा संलग्न रहेको साविती बयान दिएका थिए ।
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले हालको अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताएका छन् । शनिवार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन् ।
उनले भने, ‘मैले पहिले पनि भनेको छु–यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाऊ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन ।’
काठमाडौंका पाँच क्षेत्रमा दुई महिनासम्म भेला, जुलुस र प्रदर्शन निषेध
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र उल्लेख गरेको हो ।
विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ ।
अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८:३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन् ।
आईसीसी सीडब्ल्यूसी लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को एक दीवसीय सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्।
त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्।नेपालले लिग-२ का लागि युएईमा युएई र अमेरिकाविरुद्ध खेल खेल्दै छ।