
काठमाडौं - भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न किसिमका अपद्रव तथा आपराधिक गतिविधिमा संलग्नमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । १२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्यामा संलग्न युवराज क्याप्छाकी र बुद्धिमान थिङ (सेनाम तामाङ) लाई जिल्ला अदालत, काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरू सुनधारास्थित केन्द्रीय कारागार, जगन्नाथ देवल चलान भएका छन् ।
काभ्रेको रोशी गाउँपालिका– ९ राज बास घर भई काठमाडौंको बालुवाटारमा डेरा गरी बस्ने वर्ष २८ का क्याप्छाकी र मकवानपुरस्थित
थाहा नगरपालिका– ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरीमा डेरा गरी बस्ने २१ वर्षीय सोनाम भन्ने थिङले २४ गते महारागञ्जमा दुई प्रहरीको हत्यामा संलग्न रहेको साविती बयान दिएका थिए । प्रहरी स्रोतका अनुसार प्रहरी जवान उत्तम थापालाई महाराजगन्ज प्रहरी वृत्तबाट लखेट्दै भाटभटेनीको पर्खालमा लगेर कुटपिट गरेको बयान दिएका थिए । कुटाई बाट अचेत भएपछि उनलाई घिसारेर मुख्य सडकमा लगिएको र अन्य व्यक्तिले पनि थप कुटपिट गर्दा उनको ज्यान गएको स्वीकारेका थिए ।
दुबैका विरुद्ध प्रहरीले ज्यानसम्बन्धी मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय माग दाबी गरेको छ ।
प्रहरी वृत्त, जनसेवा (न्यूरोड) तथा आसपासमा रहेका विभिन्न भवनमा तोडफोड र आगजनी गरी भौतिक क्षति पुर्याउने दुई भारतीय नागरिकलाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । २४ गतेको उपद्रवमा सक्रिय रहेका भारतीय नागरिक निरज पोदार र रोहित सरावगी बिहीबार कारागार चलान भएको प्रवक्ता एसपी भट्टराईले बताए ।
जेनजीको दबाबमा ८२ जना छुटे
विभिन्न किसिमका दबाबपछि भदौ २३ र २४ का घटनामा संलग्न ८२ जना दैनिक हाजिर जमानीमा छुटेका छन् । बयान कागज प्रमाणित गरेर आफन्तको जिम्मामा छाडिएका उनीहरूलाई चाहेको समयमा अदालतमा पेस गरिने प्रहरी परिसर स्रोतले जनाएको छ । ‘छोड्नुपर्ने परिस्थिति भएका कारण उनीहरू बाहिरै छन्, तर हामीले चाहेको बेलामा ल्याउन सक्ने र अदालतमा बुझाउन सक्ने अवस्था छ’, प्रहरी परिसरले बतायो ।
८२ भित्र विभिन्न सरकारी तथा निजी भवनमा आगो लगाउने, तोडफोड गर्नेदेखि लुटपाटमा संलग्न व्यक्तिसमेत छन् । विभिन्न सामाजिक सञ्जालको अध्ययन र अनुसन्धानपछि पक्राउ परेका ती व्यक्तिमध्ये सबैजसोले घटनामा संलग्नता स्वीकार गरेका छन् । तर, कतिपयले अञ्जानबस गएको भनी बयान दिएको प्रहरीले जनाएको छ ।
उमेश शाही, तेन्जिङ दावासहित १२ हिरासतमा
जेनजी आन्दोलनकै क्रममा उपद्रव गतिविधि गर्ने १२ जना जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन् । प्रवक्ता भट्टराईका अनुसार विभिन्न आपराधिक कसुरमा फरार रही जेनजी अभियन्ताका रूपमा सक्रिय अछामका उमेश शाही, तिब्बतीय ओरिजिनल ब्लड (टिओबी) को ज्याकेट लगाएर पेस्तोलसहित देखिएका बौद्धका तेन्जिङ दावासहितका १२ जनालाई हिरासतमै राखेर अनुसन्धान भइरहेको हो ।
उनीहरू गम्भीर किसिमको आपराधिक कसुरमा संलग्न देखिएको कारण जस्तोसुकै दबाब आए पनि नछाडिने प्रहरीले जनाएको छ । ‘अदालतले जे आदेश दिन्छ, त्यही हुन्छ, हामीले छोड्न सक्ने अवस्था रहेन’, प्रहरीस्रोतले भन्यो ।