काठमाडौं - प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणी सार्वजनिक भएपछि नेपाल प्रहरीले आपत्ति जनाएको छ। प्रहरीले अपुष्ट र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने, सुरक्षा जोखिम बढ्ने तथा नागरिकको सेवामा समर्पित प्रहरी संगठनप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पर्न सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अपुष्ट, भ्रामक, तथ्यहीन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न आग्रह गरेको छ। समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि अनुरोध गरेको छ।
विज्ञप्तिमा नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख छ। साथै, संगठनका सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न निर्देशन दिइएको छ।
प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने आफ्नो जिम्मेवारीबाट पछि नहट्ने जनाएको छ।
संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरिएको पाइएमा त्यसमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीको चेतावनी छ।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अवनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा नागरिकलाई प्रमाणित, आधिकारिक र तथ्यमा आधारित समाचारमा विश्वास गर्न तथा अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्नसमेत आग्रह गरिएको छ।

