Harsamaya
धादिङमा चोरीको मोटरसाइकल र बन्दुकसहित दुई युवक पक्राउ

धादिङ - धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीका दुई युवक चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८३ कात्तिक १२ गते बिहान करिब ६ बजे मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा गजुरी गाउँपालिका–८ मजुवा निवासी १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही स्थानको सिउरेनी निवासी २२ वर्षीय शिशिर तामाङलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२–०६७ प ७८१३ नम्बरको कालो–निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र एक थान बन्दुक बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाको विगतको आपराधिक अभिलेखसमेत प्रहरीले जाँच गरेको छ। प्रहरीका अनुसार शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटीमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ७५६ र ७६६ तथा प्रहरी वृत्त थानकोटमा मुद्दा नम्बर ८४ दर्ता भएको देखिएको छ।

त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी कसुरमा मुद्दा नम्बर ८४ दर्ता भएको अभिलेखमा उल्लेख छ।

बरामद मोटरसाइकल र बन्दुकसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update