Harsamaya

कैलाली - कैलालीको भजनीमा बोक्सीको आरोप लगाएर एक महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

भजनी नगरपालिका–५ मिलनपुरमा ५६ वर्षीया हसना देवी डगौरा र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार कात्तिक १० गते राति करिब ९ बजे हसना देवी आफ्नै घरमा बसिरहेको अवस्थामा सोही ठाउँका ५६ वर्षीय कृष्ण डगौरा, २९ वर्षीय राजु डगौरा, २२ वर्षीय राजन डगौरा र भजनी नगरपालिका–७ की ३५ वर्षीया उर्मिला डगौरा घरमा पुगेका थिए। उनीहरूले बोक्सीको आरोप लगाउँदै हसना देवी र उनकी नातिनीमाथि कुटपिट गरेको जनाइएको छ।

कुटपिटबाट पीडित महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले कात्तिक ११ गते दिउँसो १ बजे इलाका प्रहरी कार्यालय भजनीमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update