काठमाडौं - अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार नियन्त्रणमा लिने प्रक्रिया अपनाउँदै गाँजा बरामद गरेको हो । घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भावरसिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट एक किलो ३३८ ग्राम गाँजा र दुई थान मोबाइल बरामद गरिएको छ । अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत आएको गाँजा नियन्त्रणमा लिएर गरिएको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

