Harsamaya
जोरपाटीबाट प्रतिबन्धित लागूऔषधसहित २६ वर्षीय युवक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित छहारी क्लबबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लागूऔषध बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कात्तिक १० गते राति करिब ९ बजे उक्त स्थानमा जाँच गरेको थियो।

जाँचका क्रममा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी बस्ने २६ वर्षीय राजीव तामाङको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङको साथबाट ट्रामाडोल ६०० ट्याब्लेट, नाइट्राभेट ५ हजार ४०० ट्याब्लेट, डाइजिपाम १६७ एम्पुल, फेनारागन ४२३ एम्पुल र नोर्फिन ३२४ एम्पुल बरामद गरेको हो।

पक्राउ परेका तामाङविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update