कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित एक होटलबाट ४ किलो ३२४ ग्राम चरेससहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–४ बसपार्कस्थित न्यू खप्तड सैपाल होटलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ निवासी ३५ वर्षीय सुरेन्द्रबहादुर बुढा बसेको कोठाबाट लुकाइछिपाइ राखिएको चरेस बरामद गरेको हो।
चरेस बरामद भएपछि बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

