सिरहा - लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गरेर ३३२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट लागूऔषध खैरो हेरोइन ल्याई मधेश प्रदेशका विभिन्न जिल्लामा आपूर्ति भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार २०८३ कात्तिक १२ गते बिहान सिरहा नगरपालिका–१३ मलगनियास्थित भारत मधुवनीबाट जयनगर नाका हुँदै मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई प्रहरीले निगरानी गर्ने क्रममा फेला पारेको थियो। रोक्न खोज्दा एक्कासि भागेपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि नियन्त्रणमा लिई जाँच गर्दा उनीहरूको साथबाट ३३२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला, बेला पञ्चायत–७ का ४४ वर्षीय लालबाबु सिंह र त्यही जिल्लाको टेगना बस्ने २६ वर्षीय धर्मेन्द्र दास रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन ३३२ ग्राम, भारतीय नम्बर प्लेटको बीआर–३२४ भी७५७४ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

