काठमाडौं - बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा यादवको संलग्नता खुलेको हो।
धनुषाको सबैला नगरपालिका–१२ स्थायी घर भएका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा पक्राउ गरिएको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार यादवले बाइनान्स खातामार्फत २ करोड ६९ लाख ९१ हजार ३८८ दशमलव ५० युएसडीटी बराबरको कारोबार गरेका थिए। प्रतियुएसडीटी १५१ रुपैयाँ ५३ पैसाका दरले उक्त रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ बराबर हुने प्रहरीले जनाएको छ।
यादवमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ बमोजिम जुवा खेल्ने वा सट्टेबाजी गर्ने कसुर तथा दफा २६२ (क) को उपदफा १ बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ।
पक्राउ परेका यादवलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

